‘क्लाउड सिडिङ’ को युगमा वर्षाका लागि भ्यागुताको विहे
दमक– वैशाखको पहिलो साता भारी वर्षा हुँदा खाडी मुलुक ओमान, बहराइन र यूएई डुवानमा परे। सामान्यतया सुक्खा हुने यी क्षेत्रमा २४ घण्टाको अवधिमै अधिकांश क्षेत्र जलमग्न भए।
यो वर्षा ‘क्लाउड सिडिङ’ प्रविधिको असावधानीपूर्ण प्रयोगका कारण भएको आशंका गरिएको थियो। अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल अर्थात् कृत्रिम वर्षा कुनै नयाँ शब्दावली होइन। बाढी, खडेरी, लु, तुफान, डढेलो जस्ता स्थितिलाई आकाशबाटै नियन्त्रण गर्ने विकल्पको खोजीको रूपमा कृत्रिम वर्षाको चर्चा हुने गर्छ।
भारतले समेत यसको प्रयोग गरेको छ। भयङ्कर खडेरीको सामना गरिरहेको तमिलनाडुमा भारतले सन् १९८४ मा पहिलो पटक यसको प्रयोग गरेको थियो। त्यसपछि तमिलनाडुमै १९८४–८७, १९९३–९४ को बीचमा तथा कर्नाटकमा सन् २००३ र २००४ मा क्लाउड सिडिङ प्रविधिको प्रयोग गरिएको थियो। महाराष्ट्रमा पनि यसको प्रयोग भएको थियो।
यता, नेपालमा भने खडेरी परेको भन्दै वर्षा गराउन भ्यागुताको विवाह गराउने परम्परा कायमै छ। शनिवार झापाको अर्जुनधारा–२ का स्थानीयले वर्षाको कामना गर्दै एक जोडि भ्यागुताको बिहे गरिदिए। भ्यागुताको बिहे गर्दा पानी पर्ने गरेको जनविश्वासका आधारमा बिहेको आयोजना गरिएको थियो।
हिउँदको समयमा लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गरिदिने पुरानो प्रचलन रहेकाले यो बर्ष पनि भ्यागुताको बिहे गरिएको अर्जुनधारा–२ मिलनचौकका स्थानीय युवा शिव भट्टराईले बताए।
विहेमा एउटा भ्यागुतालाई दौरा सुरुवालमा सजाईएको थियो भने अर्को भ्यागुतालाई सारी चोलो लगाएर सिंगारिएको थियो। खोला किनारमा विवाह मण्डप तयार गरिएको थियो। अर्जुनधारा–२ का वडा अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ पनि विहेमा सहभागि भए।
बाजागाजा र नाँच गानसहित भव्यरुपमा सम्पन्न भएको भ्यागुताको विवाह कार्यक्रममा सहभागीहरुलाई खोलामा नै विवाह भोज खुवाइएको थियो।
फाईल फोटो
यो पनि,