बागेश्वर धामका पीठाधिश धीरेन्द्र शास्त्री दोस्रो पटक नेपाल आउँदै, ५ दिनसम्म नेपालमै रहने
राजविराज– भारतको मध्य प्रदेशस्थित छतरपुरमा रहेको ‘बागेश्वर धाम’ का पीठाधीश तथा कथाबाचक धिरेन्द्र कृष्ण शास्त्री दोस्रो पटक नेपाल आउने भएका छन्।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१, चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसर पारी रामानन्दाचार्य सेवा पीठले सुरु गरेको संकटमोचन श्रीहनुमद महायज्ञमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन।
वैशाख १ गतेदेखि सुरु भएको महायज्ञमा सहभागी हुन उनी ५ वैशाखमा चतरा आईपुग्ने जनाईएको छ। शास्त्रीले चतरामा ९ वैशाखसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ। शास्त्री यसअघि गत भदौमा पहिलो पटक नेपाल आएका थिए।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलको निमन्त्रणामा नेपाल आएका उनले नवलपरासीस्थित शाश्वतधाममा २ देखि ४ भदौसम्म हनुमन्त कथा वाचन गरेका थिए।
को हुन धिरेन्द्र शास्त्री ?
बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनी कागजमा लेखेर मानिसको भविष्यवाणी गरेर चर्चामा छन्। उनी आफनो धाममा दरबार लगाएर मानिसका समस्या सुन्छन र पर्चामा लेखेर समाधान पनि वताउँछन्।
धीरेन्द्र कृष्ण शास्त्री छतरपुरकै गढा गाउँमा ४ जुलाई १९९६ मा जन्मिएका हुन। उनका पिता रामकृपाल गर्ग गाउँमा पूजा पाठ गर्ने र सत्यनारायणको कथा बाचनको काम गर्थे। उनकी आमा घरेलु महिला हुन। उनले दुध वेच्ने काम गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
धीरेन्द्र शास्त्रीले ९ वर्षकै उमेरदेखि नै पितासँग कथा वाचकको रुपमा काम गर्न थालेका हुन। धीरेन्द्रले हजुरबुबालाई आफनो गुरु मान्छन्। उनले हजुरबुबाबाटै रामकथा भन्न सिकेका हुन।
पहिलो शाहीस्थान सम्पन्न
चतराधाममा २७ चैतदेखि सुरु भएको महाकुम्भ मेला भने २८ वैशाखसम्म चल्नेछ। एक महिनासम्म लाग्ने कुम्भ मेला जम्मा ४ वटा शाहीस्थानको ब्यवस्था गरिएको छ। जस अन्तर्गत नयाँ वर्षको शुभसाइतमा पहिलो शाहीस्नान गरिएको छ। जगतगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन्। ११, १६ र २६ वैशाखमा वाँकी शाहीस्नानका कार्यक्रम राखिएको छ।
हिन्दु धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोसी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगदगुरु देवाचार्यले बताएका छन्। धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई नै शाहीस्नान भनिन्छ।