६० किलो सुन तस्करीमा अनुशन्धान सुरु भएपछि पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ फरार
काठमाडौं– १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङ फरार भएका छन्।
राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुनमा समेत संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएपछि गुरुङ फरार भउका हुन।
१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भए लगत्तै उनी फरार भएको जनाईएको छ। सीआईबीले अहिलेसम्म गुरुङलाई फेला पार्न सकेको छैन। २१ मंसिरमा फ्लाई दुबईको एयरमार्फत १४ किलो सुन लिएर आउँदै गर्दा गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए।
उक्त सुन तस्करीमा गुरुङको संलग्नता देखिएपछि सीआईबीले गुरुङ पनि पक्राउ परेका थिए। गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए। उनी रिहा भए पनि गुरुङको संलग्नता ६० किलो भन्दा बढीमा समेत संलग्नता खुलेको थियो।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीका नाइके दावाजिन वाङले चढेको गाडी नै गुरुङको नाममा रहेको खुलेको थियो। दावाजिनले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई गाडी सहयोग गर्न भनेको र त्यसपछि महराले प्लाटिनम कलेजका अध्यक्षलाई दावाजिनलाई सहयोग गर्न भनेका थिए।
दावाजिनले रकम दिएपछि गुरुङले आफ्नो नाममा गाडी किनेर दावाजिनलाई दिएको खुलेको थियो। उक्त गाडीमार्फत नै दावाजिनले अवैध सुन ओसारपसार र कारोबार गरेको देखिएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।
गुरुङकै नाममा गाडी खरिद गरेर सुन तस्करीमा प्रयोग गरेको पाइएपछि सीआईबीले ६० किलो सुन तस्करीमा पनि गुरुङमाथि अनुसन्धान अघि बढाएको छ। तर, ५ चैतमा रिहा भएका गुरुङ फरार छन्।