‘अज्ञात समुह’ का नाममा आफै बस्ने सरकारी निवासमा आगजनी गर्ने प्रशासकीय अधिकृत पक्राउ
काठमाण्डौं– दार्चुलामा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा २५ फागुनको विहानका राती ढुंगामुढा र आगजनी भयो।
गाउँपालिकाको वडा नम्बर २ मा रहेको निवासमा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका थिए। राति करिब पौने २ बजे अज्ञात समुहले कोठामा ढुंगा प्रहार गरी आगजनी गर्यो।
ढुंगा प्रहार गर्दा झ्यालका सिसाहरू फुटेको र निवासमा रहेका पर्दा, किताब, बेड, ल्यापटप लगायतमा क्षति पुगेको भन्दै प्रहरीले आगजनी गर्ने अज्ञात समूह फरार रहेको वतायो।
अहिले आएर उक्त घट्नामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी नै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले अनुसन्धान गर्नेक्रममा प्रशासकीय अधिकृत अधिकारीले नै आगजनी गरेको देखिएपछि पक्राउ गरिएको बताए। गाउँपालिकाले पनि अधिकारीविरूद्ध जाहेरी दिएको छ।
उनीमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले किन त्यसो गरे ? भन्ने नखुलेको सिंहले बताए।