सप्तरीमा तस्करीको लाईन क्लियरः नागरिकका झोला खोस्ने प्रहरी तस्करका ट्याक्टर पनि देख्दैन
राजविराज– सीमा नाकाबाट बढ्दै गएको तस्करी नियन्त्रण गर्ने जिम्मा पाएको सुरक्षा निकायकै मिलेमतोमा सप्तरीमा तस्करीको लाईन खुलेको छ।
सप्तरीमा प्राय बेल्ही, पातो, बोदे बर्साईन, छिन्नमस्ता, नर्घो, स्वर्णपट्टी नाका तस्करीका लागि वढि प्रयोग भईरहेका छन्। त्यसमा पनि पातो र वेलही नाका अझै वढि चल्तीमा रहेको स्रोत बताउँछ। यी नाका भएर प्रहरी, प्रशासन, कतिपय पत्रकार र ब्यापारीको सेटिङमा भन्सार छली गरी सामानहरु ओसार पसार भईरहेको छ।
सप्तरीका नाकामा लाईन मिलाउन सिरहा र सप्तरीका कतिपय ठुला व्यापारी र भारतीय ब्यवसायीले मोर्चाको नेतृत्व गरेका छन्। सिरहाका हरेराम यादव, प्रकाश साह र गोपाल गुप्ता अनि सप्तरीका मो. अजिज, मो. सागिर र ओमप्रकाश यादवले प्रहरीसँग मिलेर लाईन खुलाएका छन्।
उनीहरुकै सकृयतामा प्रतिबन्धित समानको तस्करी भईरहेको स्रोतको दावी छ। नेपालबाट चीनियाँ स्याउ र लाईटर, कस्टमेटिक सामान, मरिच, सुपाडीलगायतका सामान निर्यात भईरहेको छ भने भारतबाट धान, चामल, फलाम, ईलेक्टोनिक्स, लत्ताकपडा, किराना सामान, मटर र मदिरा सहितका सामानको लाईन खुलेको स्रोत बताउँछ।
तस्करहरुले दिउँसै ट्याक्टर र ट्रकमा सामान ओसार–पसार गरिरहेका छन्। प्रत्यक्षदर्शी तथा जानकार स्रोतका अनुसार सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका घुमुवा खटिएका हुन्छन्।
सप्तरीमा वेला बखत प्रहरीका घुमुवा विवादमा आउने तर उनीहरुलाई कारवाही नहुने घट्नाक्रमले पनि तस्करीमा उनीहरुको संलग्नता र नेतृत्वको संरक्षणलाई पुष्टि गर्ने जानकारहरु वताउँछन्।
पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेशकुमार यादवले सामाजिक सञ्जाल फेसवुकमै यसको विरोध गरेका छन्। नेता यादवले लेखेका छन्–‘सप्तरी, विभिन्न नाकामा भइरहेको तस्करी रोक्न संगठित बनौं, सामाजिक संजाल/भिडियो मार्फत भण्डाफोर गरौं।’
यसअघि पनि उनले तस्करीका कारण झडपको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका थिए। दिउँसै ट्याक्टर मार्फत गैरकानुनी रुपमा सामान ओसार–पसार भईरहेको फोटोसहित उनले फेसवुकमा लेखेका छन्–‘सप्तरी, तस्करीको अखाडा। स्थानीय जनता र तस्करीमा सघाउने तस्कर एवम् सुरक्षाकर्मी बीच झडप हुने स्थिति नआओस्।’
यता, सप्तरी प्रहरीले भने जिल्लामा त्यस्तो कुनै सम्भावना नै नभएको दावी गरेको छ। प्रहरीले तस्करी निययन्त्रणका लागि नै काम गरिरहेको र गैरकानुनी रुपमा सामान ओसार पसार भईरहेको विषयमा कुनै जानकारी समेत नआएको एसपी गजुसिद्धि मानन्धरले बताए।