राष्ट्रपतिको भतिज मोहः समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन दबाब, सचिवले टेरेनन्
काठमाडौं– पदमा पुगेसकेपछि आफन्तलाई लाभका पदमा नियुक्ति दिलाउनु र राज्य कोषको दोहन गर्नु सामान्य मान्न थालिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्ना भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन लागि परेको खुलासा भएको छ।
राष्ट्रपतिले सहकारी विकास बोर्डको अधिकृत तहको जागिरबाट स्वेच्छिक अवकाश लिएर वसेका भतिज अनिलराज पौडेललाई उपाध्यक्षमा नियुक्त गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई दबाब दिईरहेका छन्। अनिलले पौडेल राष्ट्रपति नियुक्त भएपछि राजिनामा दिएका थिए।
राष्ट्रपतिको दबाबपछि मन्त्री आचार्यले पनि सचिव सुमनराज अर्याललाई नियुक्तिको निर्देशन दिएका छन्। मन्त्री आचार्य पनि राष्ट्रपतिका भान्जा हुन। मामा भन्जाको सेटिङ अनुसार नै अनिलले ‘नियुक्ति दिलाई पाउँ’ भन्दै मन्त्री आचार्य समक्ष निवदेन दिएका थिए। २६ माघमा निवेदन दिएको तीन दिनपछि नै मन्त्री आचार्यले प्रकृया अगाडि वढाउन भन्दै सचिवका नाममा तोक आदेश दिएका छन्।
तर, सचिवले भने पौडेलको नियुक्ति प्रक्रिया अघि बढाएका छैनन्। समाज कल्याण परिषद्को उपाध्यक्षको सेवा अवधि ४ वर्षको हुन्छ भने सेवा सुविधा सचिवसरह हुन्छ। परिषद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सूचीकरण तथा अनुगमन गर्ने निकाय हो।
त्यसैले यसअघि समाजकल्याण मन्त्री उमा रेग्मीले पनि आफनै बुहारी मोनिका भट्टराई अधिकारीलाई परिषदको उपाध्यक्षमा नियुक्त गरेकी थिइन्। अमेरिकाको स्थायी बसोबास अनुमति प्राप्त मोनिकाको नियुक्तिका विषयमा तिव्र विवाद भएको थियो। त्यसपछि उनले १४ माघमा राजीनामा गरेकी थिइन्।