रौतहटमा सरस्वतीको मूर्तिको विषयले दुई पक्ष झडप, कर्फ्यू आदेश जारी

रौतहट — रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको छ। झडपमा केही स्थानीय घाइते भएका छन्।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन खोजेका थिए। तर, डिजे बाजा बजाएको वहानामा अर्को पक्षले अबरोध गर्यो। अवरोध भएपछि मूर्ति सेलाउन जानेहरु बाटोमै मूर्ति राखेर बसे।

शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्ष बसेर सहमति भयो। साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएपछि मुर्ती सेलाउन जाने क्रममा केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुढा गरेको र स्थिति तनावग्रस्त बनेको थियो।

झडपमा दुबै पक्षका मानिसहरु घाइते भए पनि प्रहरीले यसबारे जानकारी दिएको छैन। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको हो।

सीडीओ हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र श्रेष्ठ समेत पुगेका छन्।

यहाँ विगते ५ बर्षदेखि मूर्ति सेलाउने बिषयमा दुई पक्षबीच झडप हुँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट