बाँसबारी प्रकरणमा वयान दिनु पर्ने डरले भागेका हुन विनोद चौधरी ?

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा बयान दिनबाट जोगिन कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी दिल्ली उडेका छन्।

सीआईबीको नियन्त्रणमा परेका कान्छा भाइ अरुण चौधरी रिहा भएलगत्तै उनी छोरा राहुललाई लिएर दिल्ली उडेका हुन। चौधरी बुधबार साँझ ५ बजे इण्डिगो एयरको जहाजबाट दिल्ली उडेको जनाईएको छ।

३ दाजुभाइ सगोलमा हुँदा १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपको स्वामित्वमा पुर्याएको प्रकरणमा विनोदलाई समेत प्रहरीले बयानमा बोलाउन लागेको चर्चा थियो। तर, जिल्ला अदालत काठमाडौँको आदेशले अरुणसमेतलाई हिरासतमुक्त गर्नु परेकाले सीआईबीले बिनोदलाई बोलाउने हिम्मत गरेन।

अनुशन्धान बाँकी रहेकाले सीआईबीले बोलाउन सक्ने आशंकामा विनोद चौधरीले देश छोडेको चर्चा सुरु भएको छ। भाइ छुटेपछि ढुक्क भएका उनी आफू बयानमा जान नपरोस् भनेरै दिल्ली उडेको पारिवारिक स्रोतले जनाएको छ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हत्याउनका लागि उतिबेला चौधरी परिवारका हर्ताकर्ता बिनोद चौधरीले खेलेको भूमिकाका कारण उनी अनुशन्धानमा तानिन सक्ने अनुमान गरिएको छ।

०४२/४३ साल ताका चौधरी परिवारको व्यवसायका नेतृत्वकर्ता विनोद चौधरीका बुवा लुनकरणदास चौधरी थिए। लुनकरणदासका तीन भाई छोरा मध्ये जेठा छोरा अर्थात बिनोद चौधरी उतिबेला दरबारसँग पनि निकै नजिक थिए। तत्कालिन अधिराजकुमार धिरेन्द्र शाहसँग बिनोद चौधरीको उठबस औधी राम्रो थियो। यसैगरी पूर्वराजा ज्ञानेन्द्र पनि उनका बालसखा हुन। दार्जीलिङको ‘नर्थ पोइन्ट’ अर्थात् चर्चित सेन्ट जोसेफ (क्याथोलिक) स्कुलमा पढ्दा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग उनको मित्रता भएको थियो। त्यही सम्बन्धको प्रयोग गरेर चौधरी परिवारले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हत्याएको जानकारहरु बताउँछन्।

निरन्तर घाटामा गएको भनिएको बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा चौधरी परिवारको च्याम्पियन फुटवेयरका नाममा ल्याउनका लागि भएको प्रकरण सार्वजनिक भईसकेको छ। विनोद चौधरी बाँसबारीको जग्गा हत्याउनका लागि खडा गरिएको च्याम्पियन फूटवेरको शेयर सदस्य हुन। उतिबेला विनोद चौधरीले वार्षिक १० लाख जोर जुत्ता च्याम्पियन फुटवेयरले उत्पादन गर्ने, उक्त कम्पनीमा बाँसबारी जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने लगाएतका प्रस्ताव दरबार हुँदै बाँसबारी छाला तथा जुत्ता कारखानाका प्रमुखसम्म लगेका रहेछन्।

दरबार मार्फत आएको प्रस्ताव भनेपछि छाला तथा जुत्ता कारखानाको बोर्डले पनि दायाँबायाँ नगरी कारखानाको जग्गा चौधरी परिवारको च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा नामसारी गरिदिने निर्णय गरेको जानकारहरु बताउँछन्।

चौधरी परिवारका नाममा नामसारी गर्ने निर्णयबारे त्यतिबेलाको कहानी अझ अचम्म लाग्दो छ। चौधरी परिवारको च्याम्पियन फुटवेयर कानुनी रुपमा दर्ता भइसकेकै थिएन। बिनोद चौधरीले अधिराजकुमार धिरेन्द्र मार्फत बाँसबारी छाला तथा जुत्ता कम्पनीको बोर्डलाई यसरी प्रभावमा पारे कि २७ कात्तिक ०४३ मा चौधरी फुटवेयर दर्ता हुनुअघि नै १० भदौ ०४३ मै बाँसबारी छाला तथा जुत्ता कम्पनीको बोर्डले चौधरी परिवारले सञ्चालन गर्ने भनेको च्याम्पियन फुटवेयरका नाममा जग्गा नामसारी गरिदिने निर्णय गरेको थियो।

अचम्म लाग्दो सो निर्णय गर्ने त्यतिबेलाको बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापा अरुण चौधरीसँगै पक्राउ परेका थिए। जग्गा हत्याउने एकमात्र उद्देश्य भएपछि जग्गा आफ्नोमा नामसारी भएको ३ वर्षपछि च्याम्पियन फुटवेयरले जुत्ता उत्पादन नै बन्द गर्यो। बिनोद चौधरीको अगुवाइमा चौधरी परिवारमा आएको उक्त जग्गा पछि अरुण चौधरीले उपयोग गर्न थाले।

यसको इतिहास समेत कोट्याउन जो कोहीले नसकोस् भनेर च्याम्पिएन फुटवेयरलाई हतारहतार सिजी चाँदबाग रेसिडेन्सीमा रुपान्तरण गरिएको पाईएको छ। अहिले सो रेसिडेन्सीका सञ्चालक अरुण चौधरी र उनकी श्रीमति शिला चौधरी हुन् भने हत्याइएको उक्त जग्गामा विनोद चौधरी हर्ताकर्ता रहेको चौधरी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको छ। जग्गा चाँदबाग रेसिडेन्सी कम्पनीका नाममा रहेको र उक्त कम्पनीको सञ्चालक अरुण चौधरी भएका कारण अहिले यो जग्गा प्रकरणमा अरुण चौधरी पक्राउ परेपनि बाँसबारी जग्गा प्रकरणको लहरो यत्तिकैमा टुंगिने छाँटकाँट भने देखिदैन।

अनुसन्धान अघि बढ्दै जाँदा बिनोद चौधरीदेखि लिएर तत्कालिन दरबार समेत यो प्रकरणमा तानिने सम्भावना देखिन्छ। तर, अनुसन्धान कसरी हुन्छ भन्ने कुरा चाहिँ धेरै महत्वपूर्ण छ। न्यायपालिकाले समेत चौधरी परिवारको पक्षमा आदेश गर्न थालेको भन्दै यसको निस्पक्ष अनुशन्धान हुनेमै सर्वसधारणले आशंका ब्यक्त गरेका छन्।

विनोद चौधरीको संलग्नताबारे संसद्मा सवाल
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले बुधबारको संसद बैठकमा बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको दाबी गरेका छन्।

यस सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न उनले कांग्रेसको ध्यानाकर्षण गराए। विशेष समयमा सांसद सुवालले उद्योगीको भेषमा चौधरी ग्रुपले बाँसबारीको जग्गा हडपेको सम्बन्धमा कांग्रेसको धारणा माग गरेका हुन्। ‘उद्योगी व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा हत्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेकाले स्पष्ट पार्न अनुरोध गर्दछु,’ सुवालले भने।

बुधबार नै संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्ने बताएका थिए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट