लघुकथाः मैन
‘मेरै कारण घर उजेलिएको छ। म नै आधार हुँ।’ धागोको यो कुरा सुनेर मैनले तत्कालै जवाफ फर्कायो, ‘आश्रय त मैरै पाएका छौ र ठडिन सकेका छौ।’
आत्मप्रशंसामा रमाउँदै दुबैले एकअर्कालाई होच्याउन थाले। ‘म नजलेसम्म घर उज्यालो हुँदैन’–धागोले घमण्ड ओकल्यो। ‘तिमी जल्न मात्र जानेका छौ, रापमा मैले पग्लिनुपर्छ र पो अँध्यारो भागेको छ’– मैन पनि जंगियो।
दुबैको भनावैरी लामो समय चल्यो। शत्रुतापूर्ण भनाभनले कचिङ्गल बढ्यो। झगडालुहरुको जल्ने क्रम तीब्र बन्यो। धागो जल्ने र मैन पग्लने क्रम रोकिएन। दुबै सँगै खिइँदै गए। अन्त्यमा आक्रोश शिखरमा पुग्यो र ठूलो उज्यालोका साथ झयाप्प निभ्यो।
आगोमा दुबै जले, पग्लिए अनि सक्किए। बाँकी थियो त चिपचिप लाग्ने पदार्थ र धागोको खरानी। उनीहरुलाई जलाउने सलाइको काटी पनि बाँकी रहेन। रह्यो त केवल– कविका लागि कविता, गायकका लागि गीत, नर्तकनर्तकीका लागि नृत्य।
राजविराज–६ सप्तरी