नापीका कर्मचारी सवार भारतीय बोलेरोले ट्याक्टरलाई ठक्कर दिँदा १ को मृत्यु, ४ जना सिकिस्त
सर्लाही– सर्लाहीको नापी कार्यालयका कर्मचारी सवार बोलेरोले उखु बोकेको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्। घाईते मध्ये अधिकांशको अवस्था गम्भिर छ।
अधिकांश नापीका कर्ममारीसहित ११ जना सवार बीआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको जिप (बोलेरो) मलंगवा नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो।
दुर्घटनामा कार्यालय प्रमुख सञ्जय मानन्धरसहित सवै घाईते भए। घाइते भएका सर्लाहीको बागमती नगरपालिका– ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति वीरगञ्ज नजिक रहेको बाराको एनएस न्युरो अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा ३ का रामलाल साह पनि घाइते भएका छन्। कार्यालय प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।
गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो। गम्भीर अवस्थाका ५जनाको एनएस अस्पतालमा उपचार भइरहेको छ। एकजना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ।
मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अहिले एनएस अस्पताल बारामा पाँचजना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ। एक जना घाइतेको भने प्रहरीसँग जानकारी छैन।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन्।