अरुण चौधरीले बयानमा भनेः जग्गा आफनो कम्पनीमा कसरी आयो मलाई जानकारी छैन

काठमाडौं– काठमाडौंको बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना प्रकरणमा विहिवार पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीको बयान सकिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।

च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका चौधरीले बयानका क्रममा १० रोपनी जग्गा उक्त कम्पनीका नाममा कसरी आयो भन्ने थाहा नभएको र आफ्नो संलग्नता पनि नरहेको बताएका छन्। अदालतबाट दोषी ठहर भए कानुनबमोजिम सजाय भोग्न र जग्गा पनि फिर्ता गर्न तयार रहेको पनि उनले बताएका छन्। ‘मेरो गल्ती केही छैन। जग्गा आफ्नो नाममा ल्याउन मेरो संलग्नता पनि थिएन,’ उनले भनेका छन्।

यसअघि उनले तत्कालै जग्गा फिर्ता गर्ने बताएको आसयमा कुराहरु बाहिर आएका थिए। तर, अहिले नै जग्गा फिर्ता गर्न तयार रहेको भनी चौधरीले बयान दिएका छैनन्। अदालतले ठहर गरेमा मात्रै जग्गा फिर्ता गर्ने बताएको एक अनुशन्धान अधिकारीले बताए। यस प्रकरणमा परिवारका अन्य सदस्यको संलग्नता पनि उनले खुलाएका छैनन्।

हालको सीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालकसमेत रहेका ६० वर्षीय चौधरी तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सेयरधनी तथा सञ्चालक हुन्। अरुणले नै मालपोत कार्यालयमा लिखतहरु सहीछाप गरेको भेटिएको प्रहरीको भनाइ छ। उनीहरूले पहिले सार्वजनिक कम्पनीलाई निजी कम्पनी बनाएको सीआईबीको निष्कर्ष छ।

हाल अरुण चौधरी लगायतको कम्पनीको नाममा आएको १० रोपनी जग्गा दिने निर्णयकर्ता बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापा हुन्। ८२ वर्षिय अजित बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा (राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा छोरा) का तेह्रदिने काका हुन। नातामा उनी सूर्यबहादुरका भाइ पर्छन।

पूर्वराजा ज्ञानेन्द्र शाहका स्कुले साथीसमेत हुन। दार्जीलिङको ‘नर्थ पोइन्ट’ अर्थात् चर्चित सेन्ट जोसेफ (क्याथोलिक) स्कुलमा पढ्दा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग उनको मित्रता भएको थियो। उनी पूर्वमन्त्री भेषबहादुर थापाका सम्धी हुन्।

२० कात्तिक ०३७ को उनकै एकल निर्णयमा छाला जुत्ता तथा चप्पल कारखानाको नाममा काठमाडौं महानगरपालिका–२२ मा रहेको कित्ता नं ५० को १८ रोपनी ३ आना २ पैसा जग्गा फुटवेयर कम्पनीको नाममा पुगेको थियो।

तर उक्त जग्गा तत्कालीन सरकारको निर्णयबिनै गैरकानुनी रुपमा बाँसबारी छाला जुत्ता तथा चप्पल काराखाना सञ्चालक समितिले फुटवेयर कम्पनी खडा गरेको र उक्त कम्पनीको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

१० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिने निर्णय गरेपछि १० भदौ ०४३ मा बाँसबारी छाला जुत्ता तथा चप्पल कारखानाको तर्फबाट थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको कम्पनी खडा गरेका थिए।

कम्पनीको जारी पुँजी ५० लाखको २५ प्रतिशत सेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा स्रेस्ता कायम रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गाको हक हस्तान्तरण भएको थियो। सञ्चालक समितिको यही निर्णयबाट सरकारलाई हानि पुर्याएको सीआईबीको दाबी छ।

सम्झौता अनुसार च्याम्पियन फुटवेयरमा बाँसबारी छाला तथा जुत्ता कारखानाका तर्फबाट १२ लाख ५० हजार रुपैयाँ मात्रै लगानी गर्नुपर्ने भए पनि २६ लाख २७८ रुपैयाँ २१ पैसा लगानी गरेको देखिएको र यसबाट पनि आफूलाई आर्थिक लाभ हुने गरी सरकारलाई ठगेको आरोप उनीहरूमाथि छ।

यसअघि यही प्रकरणमा महालेखापरीक्षकको प्रतिवेदनमा पनि प्रश्न उठाइएको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट