पूर्वराष्ट्रपतिको नजरमा समकालिन सर्वाधिक शक्तिशाली नेता केपी ओली
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समकालिन नेताहरुमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक शक्तिशाली नेता भएको दावी गरेकी छिन्।
काठमाडौंको प्रज्ञा भवनमा मंगलबार ओलीले विभिन्न कालखण्डमा संसदमा गरेको भाषणको संग्रह विमोचन गर्दै भण्डारीले ओलीको बारेमा यस्तो बताएकी हुन।
‘संग्रहमा राजनीतिक भाषण मात्र नभई बहुविधागत ज्ञानका दृष्टिकोणले महत्वपूर्ण छन्। ती संकलनीय र संग्रहणीय छन्। यस पुस्तकका नायक केपी शर्मा ओली समकालीन नेताहरूमा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ,’ उनले भनिन्, ‘ओली सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ।’
ओलीमा राजनीतिका अतिरिक्त कला, साहित्य, एवं धर्म, दर्शन र विज्ञान लगायतका विषयमा पनि गहन ज्ञान रहेको उनको भनाइ छ। ‘सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनु भएका नेता ओली हाम्रा लागि सधैँ प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन्।
मंगलबार विमोचित पुस्तक एमाले अध्यक्ष ओलीले २०४८ सालदेखि २०७४ सालको संसदमा गरेका भाषणको संग्रह हो। यो पुस्तक सविता खड्काले सम्पादन गरेकी हुन्।