अद्यागमनका कर्मचारी कुटेपछि विमानस्थलबाट नेपाल प्रहरी हटाउन माग

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने तस्करीका कारण नेपाल प्रहरीको साख गिर्दो छ। शुक्रबार अद्यागमनका कर्मचारीसँगको घम्साघम्सीले प्रहरीको कार्यकुसलतामा नै प्रश्न उठेको छ।

विभिन्न तीनवटा कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने यात्रु जाँच पनि अव नेपाल प्रहरीबाट खोसेर सशस्त्र प्रहरीलाई दिनुपर्ने माग गरेका छन्। शुक्रबार सुरक्षा जाँच गर्ने स्थानमा खटिएका प्रहरीबाट कार्यालयमा कार्यरत अध्यागमन अधिकृतमाथि नै कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तीन संगठनले विभिन्न ६ बुँदामा आफ्ना माग राखेका छन्।

शुक्रबार अपराह्न १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो। सो प्रकरणको सीसीटीभी फुटेज हेर्न गएका अध्यागमन प्रमुख गोगनबहादुर हमाललाई समेत प्रहरीले ढोका थुनेर कुटपिट गरेको आरोप लागेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन गरी तीनवटा एकाई समितिले संयुक्त विज्ञप्ति जारी गरी यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाट अध्यागमन कर्मचारीलाई जुनसुकै बखत आक्रमण हुन सक्ने जोखिम रहेको, सुरक्षाको प्रत्याभूति नभएर त्रासको अवस्था सिर्जना भएको हुँदा यस्तो अवस्थामा नियमित सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको भन्दै उनीहरूले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।

अहिले विमानस्थलको भन्सारमा मात्रै सशस्त्र प्रहरी तैनाथ छ। कर्मचारी युनियनहरूले भने अन्तर्राष्ट्रिय सीमा सुरक्षा हेर्ने निकायबाट यात्रु जाँच हुनुपर्ने माग राखेका हुन्। विज्ञप्तिमा सशस्त्र उल्लेख नगरिए पनि नेपालमा अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरी तैनाथ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय नाका नै भएकाले सशस्त्र तैनाथ हुनुपर्ने कर्मचारी संगठनहरूको तर्क छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट