सहकारी प्रकरणमा रविको हालः नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार
काठमाडौं– रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणको दलदलमा भासिँदै गएका छन्। ग्यालेक्सी टेलिभिजन छोड्दा रविको खातामा १ करोड ८० जम्मा भएको विषयमा भौचर नै सार्वजनिक भएपछि त्यसको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनका कारण उनी थप उदाङ्गिएका छन्।
पत्रकार सम्मेलनमा उनले भौचर भरेर चेक आएपनि आफनो खातामा पैसा जम्मा नभएको दावी गरे। त्यसका लागि उनले ग्लोबल आईएमई बैंकको पत्र सार्वजनिक गरे भने मितिमा विवाद देखिएपछि टेलिफोन गरेरै आफनो खातामा पैसा जम्मा नभएको पुष्टि गराउन खोजे। यो प्रकरणले लामिछाने झन समस्यामा परेको देखिएको छ।
टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले शेयर छोड्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको कागजात अव विवादमा परेको छ। त्यसका लागि उनी कानुनी परामर्शमा रहेको वताईएको छ।
१ करोड ८० लाख खातामा लिएको बैंक भौचर भरे पनि आफ्नो खातामा रकम जम्मा नभएको बताएका उनले अर्को तमसुक सार्वजनिक भएपछि वरिष्ठ अधिवक्तासँग परामर्श थालेका हुन्। रविले गोर्खा मिडिया छोड्दा १५ प्रतिशत सेयरको रकम १ करोड ८० लाख लिएको देखिएको छ। तर, पैसा लिएको भनेर सरकारी अड्डामा ल्याप्चेसहित कागज गरिदिएका रविले पत्रकार सम्मेलनमा भने रकम आफ्नो खातामा नआएको बताएका थिए।
बैंक भौचर तथा ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको भए अन्यसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ। यसबारे पर्न सक्ने झमेलालाई लिएर उनी तनावमा छन्।
रविले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन्। गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) लिँदा १ करोड ८० लाख रुपैयाँ लिएको भन्दै बैंक भौचर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन्। तर, त्यो पैसा खातामा नआएको र प्रक्रिया पुरा गर्न मात्र फेक भौचर बुझाइएको दाबी गरेपछि कानुनी अड्चन देखिएको हो।
किनकि कम्पनी ऐन २०६३ अनुसार कुनै कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरबाहीसाथ कुनै झुट्टा विवरण बुझाउनु हुँदैन। यदि त्यसो गरेको भए पचास हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
यसअघि रविले आफूले गुडबिल बापतको शेयर हिस्सा पाएको बताएका थिए। टेलिभिजनबाट बिदा हुने दिन उनले आफ्नै कार्यक्रमबाट दर्शकलाई भनेका थिए, ‘यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ। आज दिउँसो यो सेयर जस्ताको त्यस्तै यो कम्पनीलाई ससम्मान बुझाएर निस्कँदै छु।’
उनले ‘स्वेट सेयर’ लिएको विषय सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिने क्रममा पनि दोहो¥याउँदै आएका छन। सहकारीमा बचतकर्ताले जम्मा गरेको पैसा गोर्खा मिडियामा लगानी थियो। त्यही रकम रविले लिएको भन्दै समाचारहरु आईरहेका छन्।
तर, कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाको फाइलमा आफूले बुझाएको फाइल भुठो विवरण भएको उनी आफैँले बताएका छन्। त्यसपछि उनी फेरि कानुनी झोमेलामा परेका हुन्। पैसा लिएको छु भनौँ भने सहकारीमा बचतकर्ताको रकम लिएको देखिन्छ। बचतकर्ताको पैसा दुरुपयोगमा रवि प्रत्यक्ष संलग्न भएको ठहर्छ। त्यसैले आफूले पैसा नलिएको उनले दाबी गरेका छन्। तर, लिएको छैन भनेर दाबी गर्दा कम्पनी रजिस्टार कार्यालयमा विवरण बुझाइएको छ। त्यो झुटो ठहर्छ। अहिले रवि यस्तो समस्यामा परेका छन्।