औकातमा आए रवि लामिछाने, ‘पर्सनल अट्याक’ गरेर गल्ती गरेको भन्दै मागे माफी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले आवेशमा आएर जथाभावी बोलेको स्विकार्दै माफी मागेका छन्।

नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि जथाभावी बोल्दै विभिन्न सञ्चार माद्यमलाई लक्षित गरी ‘१२ भाई’ को उपमा दिएका थिए।

सोमबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको बताए। ‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो। तपाईंहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुनेजस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला’ उनले भने–‘यसपालि तपाईंहरूलाई घाटा हुने भयो।’

‘अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु। त्यसका लागि म क्षमा चाहन्छु। त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो’ उनले थपे–‘मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन।’

खास गरी जीबी राईसँग जोडिएर सहकारीको पैसा हिनामिना प्रकरणमा लगातार समाचार आउन थालेपछि उनी गलेको देखिएका छन्। सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै उनले प्रष्टीकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए।

उनले ग्यालेक्सी टेलिभिजनको गुडविल सेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको पनि बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताए।

‘मेरो नाममा चेक काटिएको रहेछ, आएको रहेछ तर रकम जम्मा भएको भनेर घण्टी बजेन’, उनले भने, ‘पैसा आएन। एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन। आएको छैन। चेक काटिएको हो तर घण्टी बजेन।’

उनले आफूमाथि नियोजित रुपमा निरन्तर प्रहार भएको जवाफ दिए। ‘ममाथि निरन्तर रुपमा प्रहार भइरहँदा, चरित्र हत्या गरिरहँदा मजा लागेन। म बचतकर्ता पनि होइन, रकम लिन पनि गएको छैन। कसैले मेरो नाम राखेर सम्झनाका लागि राखेको हुन सक्छ।’

उनले आफ्नो हकमा सञ्चारमाध्यमले नै गल्ती गरेको बताउँदै क्षमायाचना गर्न सकिने पनि तर्क गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट