अर्धचेत अवस्थामा गर्भवती श्रीमतीको हत्या, घट्नास्थलमै भेटियो कोदालो र खुर्पा
चितवन– नवलपुरको हुप्सेकोट गाउँपालिका–६ बिरुखर्कमा एक गर्भवती महिलाको हत्या भएको छ। ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या आरोपमा उनकै श्रीमान ३३ वर्षिका शेरबहादुर लम्कामगर पक्राउ परेका छन्।
आईतबार बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको डीएसपी बेदबहादुर पौडेलले वताए। चनिसरा ८ महिनाकी गर्भवती थिइन्। हत्याको कारण नखुलेको तर शेरबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेको पौडेलले वताए।
स्थानीयका अनुसार शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएका छन्। गएराति श्रीमान–श्रीमतीसँगै खाना खाएर सुतेका थिए। १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी हत्या गरेको देखिएको उनीहरुको भनाई छ।
प्रहरीले पनि शेरबहादुर मानसिक रुपमा अस्वस्थ रहेको अनुमान लगाएको छ। ‘राति केही मानिसले भाटा बोकेर लखेटेको, त्यसपछि आफु भागेको र केहीबेरपछि फाईट गर्न हतियार प्रहार गरेको भनेका छन्’ डीएसपी पौडेलले भने –‘तर, उनले भनेजस्तो घटना भने भएको देखिएको छैन।’ शेरबहादुरको टाउकोमा समेत चोट लागेको देखिएको छ।
होशमा आएपछि आफ्नी श्रीमती मृत अवस्थामा देखेपछि शेरबहादुर नजिकै रहेका आफ्ना आमा–बुवालाई बोलाउन गएका थिए। प्रहरी पुग्दा पनि उनी घटनास्थलमै थिए। अहिले उनी प्रहरीको नियन्त्रणमा छन्।