माओवादी नेताको उदण्डताः भूकम्प प्रभावितलाई राहत लिएर गएको चीनियाँ टोलीमाथि कुटपिट

काठमाडौं– भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत लिएर गएको चीनियाँ टोलीमाथि माओवादी नेताको अगुवाईमा कुटपिट भएको घट्ना सार्वजनिक भएको छ।

ललितपुरको बखुण्डोलमा कार्यालय रहेको चीनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा कुटपिट भएको हो।

कुटपिटमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी, उनका भान्से अमर खत्री र ड्राईभर मुकेश रावललगायतका ब्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुमध्ये खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई सीडीओ कार्यालयले ५ हजार धरौटीमा छोडेको छ। रावल र केसी अहिलेसम्म फरार छन्।

प्रहरीका अनुसार केसी ठेकेदार पनि हुन। खत्री केसीकै निर्माण कम्पनीमा कार्यरत भान्से हुन् भने रावल सोही कम्पनीका ड्राइभर। प्रहरीका अनुसार चीनियाँ संस्थाले भुकम्प प्रभावितका लागि लगेको राहत सामग्री जाजरकोटस्थित रिम्ना स्थित माओवादी केन्द्रका नेता केसीकै घरमा स्टोर बनाएर राखेको थियो।

राहत सामग्री लिएर जाजरकोट र रुकुम पश्चिम जाँदा चीनियाँ टोलीसँग माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पुगेका थिए। २० मंसिरको मध्यान्हमा केही स्थानमा राहत वितरण गरेर स्टोर गरेको ठाउँमा अनुगमनका चीनियाँ टोली पुगेको थियो। अनुगमनमा निर्देशक सोउ सिच्याङ आफै थिईन।

केसी राहत सामग्री वितरणप्रति असन्तुष्ट थिए। केसीको घर रहेको आठाबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको राहत वितरण बाँकी थियो। आठाबीसकोटको सामग्री सानीभारीका जनप्रतिनिधिलाई भरपाई गरेर जिम्मा लगाउने तयारी थियो। त्यही विषयमा असन्तुष्ट रहेका केसीले घोषणा गरेजति सामग्री नभएको भन्दै विवाद गरे।

त्यसपछि उनीहरुले समुहगत रुपमा सोउ सिच्याङमाथि कुटपिट गरेको खुलेको छ। केसीले भने आफूले नभई आफ्नो निर्माण कम्पनीमा काम गर्ने भान्सेले हातपात गरेको बताएका छन्। चीनियाँ टोलीको नेतृत्व गरेकी महिलाले आफूलाई भोट नहाल्न भन्दै भाषण गरेपछि हातपातको अवस्था आएको उनको भनाई छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले उचालेर महिलालाई मुद्दा मामिलामा पुर्याएको केसीले दावी गरे। उक्त घटनालाई लिएर माओवादी केन्द्रले केसीसँग लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारवाही गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट