कथित ‘तपस्वी’ बम्जनलाई डेढ बजे राती ल्याईयो सर्लाही, दुई वटा मुद्दा चल्ने

सर्लाही– हत्या, वेपत्ता, बलात्कार जस्ता आरोपमा मंगलबार काठमाडौंको बुढानिलकण्ठ–७ हात्तीगौंडामा रहेको घरमाबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही पुर्याईएको छ। बुधबार राति साढे १ बजे बम्जनलाई सर्लाही पुर्याइएको हो।

बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि कारबाहीको लागि काठमाडौं प्रहरीले रातारात बम्जनलाई सर्लाही पठाएको हो।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ। बम्जनमाथि १८ पुस ०७५ मा २८ वर्षीया रीता बोटेलाई बेपत्ता पारेको आरोप छ। सर्लाहीको बागमती नगरपालिका–१२ (साविक कर्मैया गाविस–२) की बोटेलाई बेपत्ता पारेको भन्दै खोजतलासको लागि आमा सोमनी बोटेले निवेदन दिएकी थिइन्।

बाराको हलखोरिया बनबाट बम्जनले बोटे युवतीलाई ‘गायब’ पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको छ। घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेश गरिनेछ।

२३ माघ ०७६ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा थियो। यो काममा बम्जनलाई अन्य दुई जनाले पनि सहयोग गरेको निवेदनमा उल्लेख छ। पीडित आफैँले प्रहरीमा निवेदन दिएकी थिइन्।

यो घट्नाको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिललाई बुझाइसकेको छ। १८ असार ०७७ मा प्रहरी कार्यालय सर्लाहीले सरकारी वकिलको कार्यालयमार्फत सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।

मतियारहरू ज्ञानकुमार बम्जन र जीतबहादुर तामाङसहित मुख्य अभियुक्त रामबहादुर बम्जनमाथि अदालतमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। सर्लाही जिल्ला अदालतले यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका मतियार ज्ञानकुमारलाई १० भदौ ०७९ मा र तामाङलाई ६ मंसिर ०८० मा १÷१ लाख धरौटीमा रिहा गरिसकेको छ।

बम्जन बिरुद्धको आरोप पुष्टि भए ५ लाख जरिवाना र १२ देखि १४ वर्षसम्म कैद सजाय हुन सक्ने सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहालको भनाइ छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट