मानव तस्करको सुजाता कोइरालासँग कनेक्सन, कार्कीलाई छुटाउन प्रहरीलाई दबाब

काठमाडौं– नक्कली कागजपत्र बनाएर भिजिट भिसामा मानव तस्कारी गरेको आरोपमा ७ पुसमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई ललितपुरकको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गर्यो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा पक्राउ गरिएका कार्की कांग्रेसका राम्रै नेता हुन। उनलाई छुटाउन अहिले कांग्रेस नेताहरुको दौडधुप सुरु भएको छ। खास गरी कांग्रेस नेतृ सुजाता कोइरालाले यो प्रकरणमा प्रहरीलाई दबाब दिईरहेको पाइएको छ।

कार्की यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नं. २ को (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार थिए। क्षेत्र नं. २ सुजाता कोइरालाकै निर्वाचन क्षेत्र हो। तर, दुबै जनाले चुनाव हारेका थिए।

चुनाव हारेपछि कार्कीले सिटी टुर्स एण्ड ट्राभल्स संचालन गर्दै आएका थिए। उनले ठगी र मानव तस्करी गर्न विभिन्न कम्पनी खोलेको आरोप छ। भिजिट भिसामा जानेहरूले नक्कली कागजात बनाएको फेला परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले असोजदेखि अपरेसन चलाएको थियो।

अपरेसनकै क्रममा प्रहरीले नक्कली कागज बनाएर भिजिट भिसामा विदेश पठाउन कन्सल्टेन्सी तथा ट्राभल कम्पनी र अध्यागमन विभागदेखि विमानस्थलसम्म एउटा गिरोह नै सक्रिय रहेको तथ्य फेला पारेको थियो।

ट्राभल कम्पनीले भिजिट भिसामा जाने मान्छे खोजेर उनीहरूको नक्कली कागजात तयार पार्ने र त्यसको जानकारी अध्यागमनका कर्मचारीलाई गराउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

अध्यागमनले नेपाल एयरलाइन्स र विमानस्थल प्रहरील प्रहरीसँग सेटिङ गरी नक्कली कागजपत्र बनाएर भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने गरेको भेटिएपछि २७ मंसिरसम्म गिरोहमा संलग्न ३२ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमध्ये ६ जना ट्राभल कम्पनी सञ्चालक, अध्यागमन र वायुसेवा निगमका कर्मचारी र विमानस्थलका प्रहरी कर्मचारी थिए। यसरी सेटिङ मिलाएर काम गर्दा ट्राभल कम्पनीहरूले एक जनाबाट कम्तिमा १० देखि १५ हजार रूपैयाँ लिने गर्थे।

यसरी विदेश पठाउँदा अध्यागमनका कर्मचारीले ५५ हजारसम्म, वायु सेवा निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

कार्कीको पनि यही गिरोहमा संलग्नताको प्रमाण भेटेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई थप अनुसन्धान गरी मुद्दाको प्रक्रिया अघि बढाउन जिम्मा लगाएको छ।

तर, नेतृ कोइरालाले परिसर र अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूलाई फोन गरेर कार्कीलाई छोड्न दबाब दिन थालेको प्रहरी स्रोतले जनाएको छ। राजनीतिको आडमा अनुसन्धान प्रक्रियालाई बिथोल्न खोजेपछि अनुसन्धानमा खटिएका प्रहरी उनीबाट आजित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट