रवि लामिछाने र जीबी राईबीच मलेसियामा भेट, रास्वपामा जीबीकै कर्मचारी हर्ताकर्ता

काठमाडौं– सहकारीका बचतकर्ताको १६ अर्ब भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोप लागेका ग्यालेक्सी टेलिभिजनका मालिक जीबी राई (गितेन्द्र बाबु राई) फरार छन् । उनी मलेसियामा रहेको आशंकामा विरुद्ध प्रहरीले ईन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरेको छ।

जीबी संलग्न विभिन्न सहकारी मार्फत हालसम्म १६ अर्ब ठगी भएको पाईएको छ। तर, ठगीको रकम ४५ अर्बसम्म पुग्नसक्ने अनुमान छ। कास्कीको पोखरा स्थित सुर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड हिनामिना प्रकरणमा सहकारीका कोषाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक कुमार रम्तेल पक्राउ परेका छन्।

उनीहरुलाई अदालतको आदेशले कारागार चलान गरिएको छ। सहकारीका पदाधिकारीहरु कैलाश मगर, महेन्द्र भोटे भनिने शिव बहादुर गुरुङ्ग र आइटि अफिसर भविश्वर अर्याललाई जेल चलान भएका छन्।

ठगीका मतियारहरु पक्राउ परेपनि मुख्य अभियुक्त जीबी भने फरार छन्। उनी प्रहरीसँगको सेटिङमा अदालतम उपस्थित हुने तयारीमा रहेको स्रोतको दावी छ। महेन्द्र भोटे पनि प्रहरीको सेटिङमै कास्की जिल्ला अदालतमा हाजिर भई कारागार चलान भएका हुन्।

यता, बचतकर्ताको रकम हिनामिनामा प्रत्यक्ष संलग्न रहेको भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेबारे प्रहरीले अनुसन्धान समेत नगरि प्रतिवेदन बुझाएको छ। तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक र संचालक समेत रहेका लामिछानेकै पालामा सहकारीको करोडौँ रकम टेलिभिजनमा ट्रान्सफर भएको थियो। उनीपछि सेयर किनेको देखिएका कुमार रम्तेल कारागारमा हुँदा लामिछानेका विषयमा भने अनुशन्धान नै नहुनु आश्चर्यजनक छ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा साहारा चितवन सहकारीबाट समेत ११ करोड ७१ लाख लगानी भएको खुलेको छ। धितो नै नराखी निकालिएको झण्डै १२ करोड रुपैयाँ जीबी राई र रवि लामिछानेले फिर्ता नगरेको प्रमाण पनि बाहिरिएका छन्। तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक लामिछाने र सहकारी ठगीका अभियुक्त तथा अध्यक्ष जीबीबीचको सम्बन्ध ओपन सेक्रेट छ। लामिछानेले यो सम्बन्धलाई ओझेलमा पार्ने कोशिस गरेपनि ठगीमा दुईबीचको नाता झनै कस्सिएको देखिन्छ। यतिबेला सर्वसाधारणको बिचल्ली बनाएर जीबी फरार हुँदा लामिछाने मौन छन्।

एक महिनाअघि (१६ मंसिर) मलेसिया पुगेका लामिछानेले त्यस क्रममा जीबीसँग भेट गरेको चर्चा छ। लामिछानेलाई विमानस्थलमा लिन जाने व्यक्ति नै सहकारी ठगीका अभियुक्त जीबीले संचालन गरेको नेचर हब ईन्टरनेश्नलमा कार्यरत हेमराज सापकोटा थिए।

राई र लामिछानेबीचको भेटमा जीबीले ‘समस्याग्रस्त बनेको ग्यालेक्सी टेलिभिजन जिम्मा लिएर संचालन गरिदिनुपर्यो’ भन्दै प्रश्ताव गरेको स्रोतले बतायो। जीबीले मलेशियाको केएलसीसी टावरको आसपासमा घर र गाडीसमेत जोडेको वताईन्छ।

लामिछाने मलेशियामा बस्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आयोजित कार्यक्रमको संचालक नै हेमराज सापकोटा थिए। मलेशिया एनआरएनएका उपाध्यक्ष समेत रहेका सापकोटा नेचर हबका सेकेन्ड डाइरेक्टर हुन्। लामिछानेले हालै मलेशियामा गठन गरेको प्रवासी नेपाली सम्पर्क विभागको सचिवमा पनि उनै सापकोटा छन्। मलेशियामा ग्रिन टि र साबुन राखेर सदस्य बनाउँदै ठगी धन्दा चलाउँदै आएका सापकोटा नेपालबाट भने ठगीकाण्डमा फरार अभियुक्त हुन।

कुनै समय नेपालमा पिरामिड शैलीको ठगीधन्दा चलाएको आरोपमा हर्बो ईन्टरनेश्नल नामक कम्पनिमाथि प्रहरीले अपरेशन चलाएको थियो। शुल्क उठाउने, आकर्शक उपहार र कमिशनको प्रलोभन देखाएर पिरामिड शैलीमा ठगी गरेको आरोपमा त्यतिबेला सापकोटा, जीबी राईलगायत व्यक्ति प्रहरीको खोजी सुचीमा थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट