राजबाबुको ‘राज’ खुल्यो, भारतीय नागरिक भएको प्रमाण राष्ट्रिय सभामा

राजविराज– जनता समाजवादी पार्टीका नेता तथा सांसद मृगेन्द्रकुमार सिंह यादव भारतीय नागरिक भएको भन्दै वेलावेलामा कुरा उठ्दै आएको छ। उनले वर्षौदेखि पद, पावर र पैसाको आडमा राजनीति गर्दै आएका छन्।

सप्तरीमा उनी मृगेन्द्र भन्दा ‘राजवावु’को नामले परिचित छन्। उनै राजवावु भारतीय भएको भन्दै अहिले राष्ट्रिय सभामा उजुरी परेको छ। भारतको मतदाता नामावलीमा समेत नाम रहेका यादव विरुद्ध युवराज सफलले उजुरी दिएका हुन्।

सप्तरीको बोदे बर्साइन नगरपालिका–५ मा बसोवास गर्दै आएका यादव विरुद्ध भारतको पञ्चायत आमनिर्वाचन नामावली, २०२१ (बिहार)को मतदाता विवरणसहित उजुरी दर्ता भएको जनाईएको छ। जसमा उनका परिवारका सदस्यहरूको समेत नाम छ । मतदाता नामावली सूची ४५३ मा यादवको मतदाता नम्बर डब्लुसीडी १३७५७२४ रहेको छ।

यादवलाई पदमुक्त गर्न माग गर्दै दिएको उजुरीमा जगरनाथपुर, ग्राम, बशा वार्ड नं. १४, अञ्चल÷प्रखण्डः बबुबाराही, जिल्लाः– मधुवनी रहेको उल्लेख छ। भातको बिहारको मतदाता नामावलीमा यादवको नाम मृगेन्द्र प्रसाद सिंह छ।

भारतमा उनकी श्रीमतीको नागरिकतामा सुनितादेवी नाम छ भने नेपाली नागरिक्तामा सरिता सिंह यादव छ। बिहारको मधुवनी जिल्लाअन्तर्गत बसहा पञ्चायतको बबुराही थानाबाट यादवसहित उनका दाजुभाइ, श्रीमतीलगायतले भारतीय मतदाता परिचयपत्र बनाएको पाइएको छ।

सांसद यादवले भने आफूलाई विवादित बनाउन खोजिएको प्रतिक्रिया दिएका छन्। ‘मतदाता नामावलीमा नाम भएको सुनेको छु । भारतको कुनै राजनीतिक दलले मतदाता नामावलीमा हाम्रो नाम राखिदिएको हुन सक्छ’, उनले भने, ‘तर अहिले भारतमा फोटो सहितको मतदाता परिचयपत्र चल्छ । त्यो पहिलेको होला । म जाँदा पनि जाँदिन उता । मलाई यसबारे थाहा छैन ।’

सुगौली सन्धि अगाडी नै भारतमा आफ्नो परिवारको २२ मौजा रहेको पनि उनले बताए। सन्धि अनुसार जमिन केही भारतमा परेको र केही नेपालमा परेको उनको भनाई छ। पुस्तौँदेखि नै आफूहरू नेपालमा बसेको बताउँदै उनले भने, ‘मेरो बुबालाई राजा महेन्द्रले २०१३ सालमा २ सय ५० बिघा जग्गा दिनु भएको थियो। बाजेको नाममा प्राथमिक विद्यालय छ । बजैको नाममा माध्यमिक विद्यालय छ। बुबाको नाममा माध्यमिक विद्यालय छ ।’

यादवका पाँच दाजुभाइकै भारतमा जग्गा पनि छ । उनले २०३४/३५ साल तिर आफ्नो बुबा शिक्षा सहायक मन्त्री बनेको जानकारी पनि उनले दिए। उनी तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०७९ असार २० गते कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त भएका थिए।

प्रतिनिधि सभा ०७४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा पराजित भएका उनी २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग तालमेल गरी निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट