आरोप लगाएर हिडेपछि रविलाई गृहमन्त्रीको चेतावनीः पहिलाका गल्तीमा छुट पाएपनि अब हुन्न

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पहिलाका गल्तीमा छुट पाएपनि अव त्यसरी छुट नपाउँने चेतावनी दिएका छन्।

बालकुमारी घट्ना बारे छलफल गर्न वोलाईएको राज्यव्यवस्था तथा सुशासन समितिको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानले विषय बाहिर गएर प्रश्न उठाएपछि श्रेष्ठले यस्तो चेतावनी दिएका हुन।

गृहमन्त्री श्रेष्ठले सहकारी ठगी प्रकरण छानविन गर्न निर्देशन दिएपछि आक्रोशित भएका लामिछानेले श्रेष्ठमाथि गम्भिर आरोपहरु लगाएका थिए। कुनै समय इमानको राजनीति गर्ने श्रेष्ठ पदको लोभमा रहेको, गृह मन्त्रालयका लागि मरिहत्ते गरेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकृतहरुको सरुवा गरेको, सुन प्रकरणमा प्रहरीलाई राम्रोसँग काम गर्न नदिएको, सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ जोगाउन लागि परेको, संविधानको मर्म विपरीत राष्ट्रियसभामा आएको र आफूप्रति प्रतिशोध राखेको आरोप लगाए।

लामिछानेपछि बोलेका कांग्रेस महामन्त्री गगन थापाले पूर्व गृहमन्त्रीले बहालवाला गृहमन्त्रीमाथि लगाएका आरोप गम्भिर भएको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए । सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा लामिछानेले उठाएका प्रश्न गम्भिर भएको भन्दै थापाले भनेका थिए– यो अब उहाँहरुको निजी विषय रहेन, समितिमा आएपछि गम्भिर भएर हेर्नुपर्छ।

त्यसपछि बोलेका श्रेष्ठले सहकारी ठगी प्रकरणमा आफू फस्ने डरले लामिछानेले पहिले नै प्रक्रिया जनाएको आशय ब्यक्त गरे। ‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई,’ उनले अघि भने।

राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन। त्यस्तो त हुन्न।’

प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने बताए।

‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न। खुट्टा उचाले पनि समाइन्छ’– श्रेष्ठले भने।

गृहमन्त्री श्रेष्ठले जवाफ दिने बेलामा लामिछाने भने बैठक छोडेर हिँडिसकेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट