पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, कार्यकर्ताले कुटपिट गरेपछि एकजना पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ।

पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा सम्वोधन गरिरहेका बेला लामिछानेमाथि एक युवकले अगाडिबाटै खोया प्रहार गरेका हुन्।

त्यसपछि ती युवकलाई रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। प्रहरीले उनलाई पक्राउ गरेको छ। कास्की प्रहरीका एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए।

मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको उनको भनाई छ। ‘उनी मकै खाएर बसेका रहेछन्। खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन्। उनी हाम्रो नियन्त्रणमा छन् ।’

प्रत्यक्षदर्शीका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए। उनले लामिछानेलाई ताकेर किन खोया हाने भन्ने खुलेको छैन।

लामिछानेले भने आफूमाथि प्रहार भएको मकैको खोया देखाउँदै हरेक प्रकारका प्रहारको सामना गर्न तयार रहेको बताएका छन्। ‘यो देशमा प्रश्न कसलाई गर्नुपर्ने हो । यस्ता घोगाहरु कसलाई फाल्नुपर्ने हो मलाई थाहा छैन। कयौं घराबन्दी, कयौं मुद्दा मामिला, कयौं आक्रमण, कयौं धाकधम्कीबाट नडराइकन म यो बाटो हिँडेको मान्छे हुँ’ उनले भने, ‘आफ्नै मिहिनेत र परिश्रम, कसैको केही नखाई, सम्मानित जीवन बाँच्ने सुविधालाई एकातिर पन्छाएर खुला किताब भएर आएको हुँ ।’

उनले अरूको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्ने भन्दै आफुले एकपछि अर्को पीर, दुःख घेराबन्दी र षडयन्त्र सामना गर्नुपरेको गुनासो गरे। ‘अब त नयाँ प्रहारहरू पनि सुरु भएको रहेछ। सुनाइदिनु होला यो खबर रवि लामिछाने हरेक प्रहारसँग जुध्न तयार छ। कुनै चिजबाट डराएर पछि हट्न आएको होइन।’– उनले भने।

प्रहार गर्नेलाई आफूले फूल दिने बताए। ‘खोया प्रहारको बदलामा फूल छाडेर जाँदैछु । आजका लागि मेरो लागि स्मरणीय रहनेछ’ लामिछानेले भने–‘जसले खटाएर जे सोचेर प्रहार भएको हो । मनबाट गल्ती भएछ भन्ने स्वयंलाई मेरो कामबाट महसुस गराउने गरी फेरि यही चोकमा आएर यसबारे कुराकानी गर्नेछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट