दुबईमा बसेर सयौं नेपालीलाई ठगी गरेका सर्लाहीका कोमलराज पक्राउ, नेपाल ल्याईयो
राजविराज– दुवईमा बसेर वैदेशिक रोजगारीका नाममा सयौं नेपालीलाई ठगी गरेका सर्लाही निवासी कोमलराज उपाध्याय दुवई प्रहरीको सहयोगमा पक्राउ परेका छन्। उपाध्यायलाई शुक्रबार नेपाल ल्याईएको खुलेको छ।
दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कन्सलटेन्सीमा उपाध्याय समेत सञ्चालक छन्।
आकर्षक तलब र सुविधा हुने भनी सो कन्सल्टेन्सिजबाट प्रलोभन देखाउने गरिन्थ्यो । भिजिट भिसामार्फत नेपालबाट दुबई बोलाएर रोजगारीका निम्ति भन्दै ‘पीडित’बाट रकम लिइन्थ्यो । त्यसपछि भने बमोजिम कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको खुलेको थियो।
उपाध्याय विरुद्ध प्रहरीमा ५१ जनाको जाहेरी दरखास्त छ। अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट ०७९ वैशाख २७ गते रेड नोटिस समेत जारी भएको थियो।
यसअघि उनी ०७८ सालमा भिजिट भिसाको आवरणमा नेपालबाट युनाइटेड अरब इमिरेट्स (यूएई) मानव तस्करी गर्दै आएका थिए। त्यो गिरोहको नाइके नै उपाध्याय भएको खुलेपछि उनी पक्राउ परेका थिए। उनले भिजिट भिसामा दुवई पु–याएका एक नेपालीलाई अपहरण गरी दुवईमै बन्धक बनाएर कुटपिट गरेको खुलेपछि दुवई प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उनले नेपालबाट रोजगारीका लागि दुवई पुगेका अमन थापालाई क्याम्पबाटै अपहरण गरी कुटपिट गरेका थिए। कुटपिटपछि ती युवालाई सबै नेपाली मिलेर उद्धार गरेका थिए। सञ्चारमाध्यमलाई खबर दिएको भन्दै उपाध्याय समूहले निर्दोष युवालाई अपहरण गरेको थियो।
मानव तस्करीका नाइके तथा त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सिजका मालिक समेत रहेका उनले नेपालमा आफ्ना दलालहरुमाथि दुवईमा भएको नेपालीको सूचना लिएका थिए। सञ्चारमाध्यममा प्रकाशित बैंक भौचरका आधारमा दलालहरुले थापाको परिवारलाई धम्क्याएर सूचना लिएका थिए।
त्रिनेत्र म्यानेजमेन्टको नाममा दुवई पुगेका ६५ जना नेपाली एउटै क्याम्पमा भेटिएका थिए। ती नेपाली बिचल्लीमा परेपछि उद्धारका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिएको थियो।