रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव विरुद्ध चोरी डाँका मुद्दा चलाउन अदालतको आदेश

राजविराज– सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा दर्ता गर्न आदलतले आदेश दिएको छ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले गाउँपालिका अध्यक्ष यादव, निवर्तमान वडाध्यक्ष पीताम्बर यादव, वडा २ का सरोज यादव र वडा नं. १ का राम यादवमाथि चोरी डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको हो।

अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले परमादेश जारी गरेको अदालतका सूचना अधिकारी इन्द्रकुमार योङहाङ्गले जानकारी दिए। गाउँपालिका अध्यक्ष दिनेश वडा १ का वासिन्दा हुन् भने पीताम्बर सोही वडाका निवर्तमान वडाध्यक्ष हुन।

उनीहरुविरुद्ध रुपनी गाउँपालिका १ कै किरण कुमार जयसवालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा चोरी डाँका सम्बन्धी जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनी उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका थिए।

गाउँपालिका अध्यक्ष दिनेश, वडाध्यक्ष पीम्बरसहितका चार जनाले हातपात गर्दै मोबाइल र २५ हजार रुपैयाँ चोरी–डाँका गरेको जयसवालको आरोप छ। गाउँपालिका अध्यक्ष दिनेशले कमिसन लिएको प्रमाण जयसवालले मोबाइलमा राखेका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन्।

गत २३ असारको राति गाउँपालिकाको स्कार्पीओ दुर्घटना हुँदा सामाजिक सञ्जालमा लेखेकै निहुँमा २४ असारको बिहान हातपात गर्दै मोबाइल र २५ हजार रुपैयाँ चोरी डाँका गरेको जयसवालले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ।

योङहाङका अनुसार जिल्ला प्रशासन कार्यालय, सीडीओ, जिल्ला प्रहरी कार्यालय, एसपी, जिल्ला सरकारी वकिल कार्यालय र कार्यालय प्रमुखको नाममा परमादेश जारी भएको हो। सप्तरी प्रहरीका एसपी गजुसिद्धी बज्राचार्यले कानून उल्लङ्घन गर्ने जो–कोहीमाथि कारबाही हुने वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट