साताअघि कारागारमै जन्मदिन मनाएका थुनुवाको रहस्यमय मृत्यु, शव हेर्न दिईएन

विराटनगर– साता दिनअघि आफन्त बोलाएर जन्मदिन मनाएका मोरङ कारागारका एक थुनावाको रहस्यमय मृत्यु भएको छ।

कात्तिक अन्तिमदेखि जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका मोरङको लेटाङ–४ का ४० वर्षीय केशरबहादुर भुजेलको बिहीबार बेलुका करिव साढे ५ बजे मृत्यु भएको हो। कोशी अस्पतालको आकस्मिक कक्षमा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

भुजेलले १६ मंसिरमा कारागारमै जन्मदिन मनाएका थिए। मामाको जन्मदिन मनाउन भान्जी एलिना भुजेल मासु समेत बोकेर कारागार पुगेकी थिईन। घरबाट बनाएर लगेको मासु उनले मिठो मानेर खाएका थिए। त्यसयता पनि फोनमा राम्रो कुराकानी भइरहेको एलिना बताउँछिन्।

कारागारले एक्कासि बिहीबार मामा बितेको खबर गर्दा पत्याउनै मुस्किल भएको उनले वताईन। शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले कुटपिट गरेर मारेको हुन सक्ने आशङ्का मृतकका परिवारले गरेका छन्।

अस्पतालमा पोस्माटर्मका लागि राखिएको शव हेर्न नदिइएको भुजेलकी श्रीमती रामकुमारीले गुनासो गरिन। शव हेर्न पनि नदिनु, विरामी भएको जानकारी नदिएर मृत्यु भएको पनि ढिलो गरी खबर गर्नु र एक दिनअघि मात्रै मज्जासँग कुराकानी भएको श्रीमानको एक्कासि मृत्यु भयो भन्नुले घट्नामा कैफियत देखिएको उनको आरोप छ।

‘घटना रहस्यमय छ। घटनाको छानबिन गरिनुपर्छ। न्यायीक छानबिन समिति गठन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याईयोस।’ उनले भनिन्। छानबिन समिति गठन नगरेसम्म शव नवुझ्ने भन्दै उनले त्यसपछि मात्र पोस्टमार्टम गर्नुपर्ने अडान लिएकी छिन्।

कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पुर्याएको जनाएको छ। आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई अस्पतालले भनेको थियो। तर, आफन्तलाई उक्त कुराको जानकारी दिइएको थिएन। त्यही कारण उनको कोशी अस्पतालमै मृत्यु भयो।

उनका आफन्तका अनुसार मृत्यु हुनभन्दा अगाडि भुजेल बेलाबेलामा पिसाब लाग्यो भन्दै शौचालय जाने गरेका थिए। पटक पटक पिसाब लाग्यो भन्नु र पेट दुख्यो भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको आशंका गरिएको छ।

कारागारमा नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कैदीवन्दीलाई कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ। कारागार मुक्त हुनेहरुले पनि कारागारमा १०÷१० दिन (१, ११ र २१ गते) भित्र खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदी बन्दीहरुलाई चौकीदारको निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गरेको बताउने गरेका छन्।

भुजेल गत ६ कार्तिकमा बलात्कारको आरोपमा पक्राउ परेका हुन। प्रहरीको अनुशन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि मोरङ अदालतले भुजेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेले भुजेलको उपचारको क्रममा मृत्यु भएको बताए। कारागारबाट कुनै पनि लापरबाही नभएको उनको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट