सप्तरीको रुपनीसहित मधेशका ८ पालिकाले अझै बजेट पेस गर्न सकेनन्, के हुन्छ कारवाही ?

राजविराज– सप्तरीको रुपनी गाउँपालिकासहित मधेशका ८ वटा र कोशीको एउटा स्थानीयतहले अझैसम्म बजेट पेस गर्न सकेका छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०÷०८१ को बजेट पेस नगरेका हुन् । असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान छ । तर, मंसिरको दोस्रो हप्ता कटिसक्दा पनि ९ स्थानीय तहले बजेट पेस गरेका छैनन।

मन्त्रालयका अनुसार सप्तरीको रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, रौतहटको गढीमाई नगरपालिका, रौतहटकै फतुवा विजयपुर नगरपालिका र कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले वार्षिक बजेट पेस नगरेका हुन्।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार बजेट समयमै पेस नगर्ने स्थानीय तहलाई के कारबाही गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था नभएकाले समस्या पैदा भएको छ। संघ र प्रदेशले समयमा बजेट नल्याउँदा सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्छ तर, स्थानीय तहले बजेट नल्याउँदा कारबाही गर्ने कुनै स्पष्ट कानुनी व्यवस्था नै नभएको उनले वताए।

बजेट नल्याउँदा सम्बन्धित स्थानीय तहमा थुप्रै बेरुजु देखिन्छ। महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन बनाउँदा बेरुजु देखाएपछि अख्तियारले केही स्थानीय तहलाई कारबाही गरेको उदाहरण समेत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट