प्रधानमन्त्री बाहेक सवै मन्त्री फेर्ने तयारी, नारायणकाजीलाई किन देख्न सक्दैन कांग्रेस ?
काठमाडौं– युएई भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उताबाट फर्केपछि आफ्नो मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। माघभित्र सवै मन्त्री फर्ने उनको तयारी छ, जसका लागि उनले गठबन्धनको शीर्ष नेतृत्व तहमा समझदारी जुटिसकेको स्रोत बताउँछ।
दाहाल प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ। सरकारले एक वर्ष पूरा गरेलगत्तै मन्त्रीहरूको टिम नै फेर्ने गृहकार्य भइरहेको जनाईएको छ। तर, गठबन्धनको प्रमुख दल कांग्रेसले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै सरकार पुनर्गठन गर्न सुझाव दिएको छ।
त्यही आधारमा पुस दोस्रो हप्तादेखि माघभित्र नयाँ मन्त्री नियुक्त गर्ने सत्तारुढ दलका नेताहरू बताउँछन्।
अर्थतन्त्र कमजोर भइरहेको, भ्रष्टाचार बढेको, राजनीतिक दल र जनतामा निराशा बढेको लगायतका कारणले शीर्ष नेताबीच मन्त्रिमण्डल हेरफेरको गृहकार्य भएको कांग्रेसका एक नेताले वताए।
माओवादी केन्द्रका एक नेताले पनि मन्त्री फेर्ने तयारी रहेको बताए। केही मन्त्री हटाएर नयाँ थप्दा पार्टीभित्र असन्तुष्टि बढ्ने तर टिम नै परिवर्तन गर्दा धेरैलाई पालो पु¥याउन सकिने र कोही असन्तुष्ट हुने ठाउँ पनि नरहने भएकाले शीर्ष नेता टिम नै फेर्ने योजनामा लागेका हुन्।
पहिलो र दोस्रो कार्यकाल ९ महिना बढी सत्ता चलाउन नपाएका प्रचण्डले यस कार्यकाललाई ऐतिहासिक बनाउने बताइरहेका छन्। तर, नागरिकमा चुलिँदै गएको निराशा र कमजोर अर्थतन्त्रका कारण उनले मन्त्री फेर्न खोजेको माओवादी केन्द्रका नेताहरूको जिकिर छ।
अहिले कांग्रेसले गृह मन्त्रालय मागिरहेको छ भने अर्थ मन्त्रालय माओवादीलाई छोड्न तयार छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई तानेकोमा कांग्रेस नेताहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग रुष्ट छन्। गृहमन्त्री श्रेष्ठलाई हटाउन धेरै अघिदेखि कांग्रेसले प्रधानमन्त्रीमाथि दबाब दिईरहेको छ।