जाजरकोट भुकम्पका कारण भारतको नासिकमा रहेका जीतबहादुरको मृत्यु
नेपालगञ्ज– शुक्रबार मध्यरातीको विनासकारी भुकम्पका कारण भारतको महाराष्ट्रस्थित नासिक रहेका सल्यानको वनगाड कुपिण्डे नगरपालिका– ४ का ५७ वर्षिय जीतबहादुर विष्टको मृत्यु भएको छ।
जाजरकोटको नलगाडस्थित एउटा बोर्डिङ स्कुलमा शिक्षक रहेका छोरा ३२ वर्षिय मोहन र वुहारी शोभा दुवै जना भुकम्पमा पुरिएको खवर सुनेपछि उनी आत्तिर वेहोस भई तत्कालै ढलेका थिए। त्यसको केही बेरमै उनको मृत्यु भएको थियो।
भाई दुर्गा बीसीका अनुसार जीतबहादुर धेरै वर्षदेखि रोजगारीका लागि भारतमा थिए। नासिकको एउटा होटलमा वेटरको काम गर्ने उनी घर नआएकै २ वर्ष भइसकेको थियो। अन्तिम समयमा श्रीमतीसहित परिवारलाई देख्नै नपाई उनी विते।
महाराष्ट्रबाट शव नेपाल ल्याउन असहज भएपछि छोरी सरिता र माइलो भाइ मोहन विष्ट नासिक पुगेरै उनको अन्त्येष्टि गरेर फर्किएका छन्।
भूकम्पमा पुरिएका मोहन र शोभालाई भने स्थानीयले उद्वार गरेर निकालेका थिए। शोभाको सोही राति मृत्यु भयो भने मोहनको भेरी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। भूकम्पले डेरा बसेको घर भत्किँदा मोहनलाई दलिनको काठले च्यापेको थियो। उनको टाउको, पेट र खुट्टामा गम्भीर चोट लागेको छ।
कलेजोमा पनि समस्या देखिएको स्वास्थ्यकर्मीहरुले वताएका छन्। उनलाई काठमाण्डौ लाने तयारी भईरहेको काका दुर्गा बीसीले वताए। मोहन र शोभाका ६ वर्षीय छोरा भने मामाघर गएकाले जोगिएका थिए।
मोहनको उपचारका लागि आमा हेमा नाति लिएर नेपालगञ्ज आएकी थिइन्। नेपालगञ्जमै उनले श्रीमान्को मृत्युको दुःखद खबर सुन्नुप¥यो । एकैसाथ श्रीमान् र बुहारी गुमाएकी उनले छोराको स्याहार गरेर अस्पताल बस्न पनि पाइनन् । उनी काजकिरिया गर्न घर फर्किएको दुर्गाले बताए।