पूर्वराजाको खोपीबाट प्रसाईँको आक्रमणः कारवाही गर्न प्रचण्ड समक्ष ओलीको हारगुहार

काठमाडौं– कुनै वेला ‘हजुरबुबा’ भन्दै चिप्लो घस्ने मेडिकल ब्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय आफनो बत्ख्वाईँ गर्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिढिएका छन्।

एमाले छोडेर ऋण नतिर्ने र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि प्रसाईं र ओलीबीच तिक्त सम्बन्ध छ। त्यसमाथि दसैँअघि प्रसाईंले दिएको अभिब्यक्तिका कारण ओली उनीप्रति थप आक्रामक छन्।

प्रसाईले कम्बोडियाको टेलीकममा ओलीको लगानी रहेको र त्यसको प्रमाण आफुसँग भएको बताएपछि उनलाई कारबाही गर्न आग्रह गर्दै ओली शुक्रवार सिंहदरबार पुगेका थिए। राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न ओलीले दाहाललाई दबाब दिन थालेको स्रोतको दावी छ।

सिंहदरबारमा भएको भेटमा ओलीले दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन माग गरेको बालुवाटार स्रोतले जनाएको छ। ओलीले गरेको आग्रहबारे दाहालले आइतबार बिहान बालुवाटार पुगेका माओवादीका केही नेताहरुलाई पनि जानकारी गराए।

माओवादी पृष्ठभूमिका प्रसाईं ०७५ मा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा ओली–दाहाल दुवैका प्रिय थिए। उनले दुई नेतालाई सँगै राखेर चरेसको थालमा मार्सी धानको खाना खुवाएपछि ‘मार्सी’ नामले चर्चित भए। दाहाल, ओली हुँदै ज्ञानेन्द्रलाई समेत प्रभावमा पारेर प्रसाईले व्यवसायलाई अपारदर्शी ढंगले उकासे ।

दुई वर्षअघि ०७८ मंसिरमा चितवनमा आयोजित एमाले दसौं महाधिवेशनमा दुर्गा प्रसाईले केन्द्रीय सदस्य बन्ने चाहना राखेका थिए। महाधिवेशनमा केन्द्रीय सदस्य हुन नपाए पनि प्रसाईं पार्टी बैठकबाट मनोनित भए।

तर, उनी एमालेमा टिकिरहन सकेनन्। पूर्वराजा ज्ञानेन्द्रको समर्थन तथा एमाले अध्यक्ष ओलीको उछित्तो काढ्न थाले। यही गतिविधिका कारण प्रसाईंलाई युवासंघले काठमाडौँमा कालोमोसो दलेको थियो।

त्यसको प्रतिक्रियास्वरुप उनले झापामा आयोजित युवासंघको कार्यक्रममा पुगेका लगभग २५ वटा गाडी तोडफोड गरेका थिए। उक्त कार्यक्रममा एमाले नेता महेश बस्नेत पनि सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट