मुगु हत्या प्रकरणः अनुशन्धान भईरहेकै बेला श्रीदेवीको मोवाईल एक्टिभ, श्रीमानलाई पठाईयो शवको फोटो

वीरेन्द्रनगर– मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुमा एकै परिवारका ४ जनाको हत्या भएको ५ दिनपछि प्रहरीले केही नयाँ तथ्यहरु सार्वजनिक गरेको छ।

वैदेशिक रोजगारीका निम्ति कतार पुगेका दीपक बोहराकी श्रीमती २८ वर्षीया श्रीदेवी, ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठमहिने छोरा रहरको शव शुक्रवार (१० कात्तिक) फेला परेको थियो।

घटनापछि श्रीदेवीका श्रीमान् दीपक कतारबाट शनिवार घर आएका छन्। उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए। त्यसअघि पनि कतारमै रहेका दीपक गत वर्ष बिदामा घर आएर फर्किएका हुन्।

प्रहरीका अनुसार लुटपाट गर्ने उदेश्यले धारिलो हतियार प्रयोग गरेर चारै जनाको सामूहिक हत्या गरिएको आशंका छ। स्थानीयका अनुसार श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा बडादसैँको टीका थाप्न छायानाथरारा–६, कोटिल्लास्थित माइतीघर पुगेकी थिइन् ।

उनीहरू दसैँको दिन टीका लगाएर त्यहीँ बसे। ८ कात्तिकमा आफ्नो घर फर्किएका थिए। सोही राति उनीहरुको हत्या गरिएको प्रहरीको दाबी छ। १० कात्तिकसम्म घरमा ताल्चा देखेपछि छिमेकीले त्यो फोडेका थिए। त्यसपछि श्रीदेवीसहित उनका तीन छोराछोरीका शव फेला पर्यो। त्यसलगत्तै छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

अनुशन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार श्रीदेवीले लगाएको सुनका गरगहना लुटिएको छ। श्रीमान दीपकका अनुसार श्रीदेवीको अनुहार नै नचिनिने गरी धारिलो हतियार प्रहार गरिएको र कानको तीन तोलाको रिङ चुँडाएर लगिएको छ। ‘घरमा भएको अरु सामान पनि खोजेका रहेछन्। नदेख्ने ठाउँमा रहेकाले ३/४ तोला सुन जोगिएको छ।’– उनले भने।

श्रीदेवीले चलाउँदै आएको मोबाइल फोन समेत हत्याराले लिएर गएको पाईएको छ। चार्जमा राखेको मोबाइल फोन निकाल्ने क्रममा चार्जरमा समेत रगत लागेको भेटिएको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकै बेला श्रीदेवीको मोबाइलबाट कतारमा रहेका उनका श्रीमान् दीपकलाई छोराछोरीको शवसहितको फोटो म्यासेन्जरमा पठाएको खुलेको छ। प्रहरीका अनुसार घट्ना ८ गते राती नै भएको हो।

त्यसको वारेमा प्रहरीले १० कात्तिकको विहान मात्रै जानकारी पायो। १० गते विहान ९ वजेपछि मात्रै प्रहरीले अनुशन्धान प्रकृया अघि वढाएको थियो। प्रहरीका अनुसार अनुशन्धान चलिरहेकै बेला श्रीदेवीको मोवाईलबाट फोटो सेन्ड भएको पाईएको छ।

दीपकलाई फोटो पठाउँदाको मोबाइलको ‘बीटीएस’ प्रहरीले अध्ययन गरिरहेको छ। हत्यालगत्तै लुटेर लगेको मोबाइलको टावर भने घटनास्थलनजिकै देखिएको प्रहरी स्रोतको भनाइ छ। श्रीदेवी र उनका छोराछोरीको हत्यापछि घरको मूलढोकामा ताल्चा लगाइएको थियो। उक्त ताल्चा श्रीदेवीको घरमा लगाउने पुरानो नभई नयाँ ताल्चा लगाइएको खुलेको छ।

अनुशन्धानलाई बल पुर्याउन कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल आईतवार आफै घट्नास्थल पुगेका छन्। अनुशन्धानका लागि शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी खटिएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट वरिष्ठ प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा विशेष अनुसन्धान टोली पनि खटिसकेको छ भने जुम्लाबाट पनि अनुसन्धानको लागि विशेष टोली घटनास्थलमा पुगेको छ।

यस्तै, नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट इन्स्पेक्टरको कमाण्डमा पनि अनुसन्धानको लागि टोली खटिएको कर्णाली प्रदेश प्रहरी प्रमुख ढकालले बताए। उनका अनुसार नेपालगन्जबाट कुकुर शाखाको टोली पनि पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ।

डीएसपी थापाका अनुसार प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको छ। शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काम भईरहेको उनले वताए। उनले प्रहरी हत्यारा नजिक पुगिसकेको दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट