अमेरिकाको सनसनीपूर्ण प्रतिवेदनः नेपालको धार्मिक स्वतन्त्रता जोखिममा
काठमाडौं– नेपालमा पछिल्लो समय हिन्दु र बौद्ध धर्म सम्वन्धि अध्ययन गराउने संस्थाहरुको संख्या घटेको र मुस्लिम तथा क्रिश्चियन धर्म बारे अध्यापन गराउने संस्थाहरुको संख्या बढेको पाईएको छ।
सन् २०२२ मा अमेरिकाले धार्मिक स्वतन्त्रतासम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनले यो तथ्य वाहिर ल्याएको हो। नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै अमेरिकाले नेपालमा सन् २०२१ देखि बौद्ध धर्म अध्ययन गराउने गुम्बाको संख्या घटेर ६१ पुगेको बताएको छ ।
त्यस्तै, हिन्दु धर्मसम्बन्धी अध्ययन अध्यापन गराउने गुरुकुलको संख्या पनि घटेको छ तर मुस्लिम धर्मसम्बन्धी अध्ययन गराउने मदरसाको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ । क्रिश्चियनको पनि त्यसै गरी बढेको भनिएको छ ।
इन्टरनेशनल फ्रिडम अफ रिलिजन एन्ड बिलीफ नामक यूकेको अनौपचारिक सर्वदलीय संसदीय समूहले धर्मसम्बन्धी तयार पारेको प्रतिवेदनको हवाला दिँदै अमेरिकाले नेपालको धार्मिक स्वतन्त्रता जोखिममा रहेको जनाएको छ ।
नेपाल धर्मनिरपेक्ष राज्य भएपछि धर्म रुपान्तरणको क्रम बढेको गुनासो सर्वत्र सुनिन्छ । इसाई धर्म मान्नेको संख्या जसरी बढ्दैछ, त्यसरी नै हिन्दु र बौद्ध धर्मावलम्बीको संख्या घटदैछ । गणतन्त्र स्थापनापछि यो दर झनै तीब्र रुपमा बढेको छ ।
नेपालको संविधान २०१९ ले पहिलो पटक नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेको थियो । त्यो बेला पनि धर्मान्तरण भएको देखिन्छ । अहिले त नेपालमा १२ सयभन्दा बढी चर्च नै छन् । गाउँगाउँमा गएर धर्म प्रचार गरेर धर्म रुपान्तरण गराइरहेको समाचार बेलाबखत प्रकाशित भइरहेका छन् ।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले नेपालमा १.४१ प्रतिशत अर्थात् करिब पौने ४ लाख इसाई धर्म मान्ने थिए । ०७८ को जनगणनामा त्यो १.७६ प्रतिशत अर्थात् पाँच लाख १२ हजार ३१३ पुगेका छन् । इसाई धर्मको गणना ०२८ देखि हुन थालेको हो । त्यसबेला यो धर्मावलम्बी ०.२५ प्रतिशत थिए ।
राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा १० वटा धर्म मान्नेहरुको बसोबास छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये दुई करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशत हिन्दु धर्म मान्ने छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार हिन्दुको संख्या ८१.३ प्रतिशत थियो । अर्थात् १० वर्षको अवधिमा हिन्दु धर्म मान्नेको संख्या ०.११ प्रतिशतले घटेको छ ।
हाल बौद्ध धर्म मान्नेको संख्या ८.२१ प्रतिशत छ । २०६८ को जनगणनामा बौद्ध धर्मको जनसंख्या नौ प्रतिशत थियो । अर्थात् १० वर्षमा बौद्धधर्मी १ प्रतिशतले घटेका छन् । प्राकृत, जैन, बहाइ धर्मावलम्बीको संख्या पनि घटेको छ ।
इसाई र इस्लामको धर्मावलम्बीको संख्या भने बढेको छ । अहिलेको जनगणना अनुसार मुस्लिमको जनसंख्या १४ लाख ८३ हजार ६६ अर्थात् ५.०९ प्रतिशत छ । जबकि ०६८ मा मुस्लिमको जनसंख्या ४.४ प्रतिशत थियो । अर्थात् मुस्लिमको जनसंख्या ०.६९ प्रतिशतले बढेको छ ।
त्यस्तै, किराँत धर्म मान्नेको संख्या नौ लाख २४ हजार २०४ अर्थात् ३.१७ प्रतिशत, क्रिश्चियन धर्माम्वलम्बी पाँच लाख १२ हजार ३१३ अर्थात् १.७६ प्रतिशत, प्राकृतिक धर्म मान्ने एक लाख दुई हजार ४८ अर्थात् ०.३५ प्रतिशत छ ।
बोन धर्म मान्नेहरुको संख्या ६७ हजार २२३ अर्थात् ०.२३ प्रतिशत, जैन धर्मको मान्नेको संख्या दुई हजार ३९८, शिख धर्म मान्नेको संख्या एक हजार ४९६ र बहाई धर्म मान्नेको संख्या ५३७ रहेको छ ।