सवा ९ करोड हिनामिना गरेर विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक सम्पर्कविहिन

विराटनगर– विराटनगरमा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले ५ सयभन्दा वढि बचतकर्ताको ९ करोडभन्दा वढी रकम हिनामिना गरेको खुलेको छ। वचत फिर्ता गर्न नसकेपछि सञ्चालकहरु सहकारी वन्द गरेर सम्पर्कविहिन भएपछि बचतकर्तालाई विचल्लीमा परेका छन्।

सञ्चालक समितिका अध्यक्ष अमलेश कर्णसहित चार जना सञ्चालकले करिव ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको वचतकर्ताको आरोप छ। बचत हिनामिनाको गुनासो आउन थालेपछि गत साउनमा प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले समिति वनाएर त्यसको छानबिन गरेको थियो।

छानविनले हिनामिना भएको रकमको आधा रकम सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखाएको थियो। कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो । उनले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।

सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सहकारीका अध्यक्ष अमलेश कर्णले एक करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ । सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।

सहकारीले बचतकर्ताबाट उठाएको मध्ये एक करोड ५१ लाख १० हजार २३८ रुपैयाँ ऋण लगानी गरेको छ । सर्वसाधारणबाट संकलन भएको ९ करोड २५ लाख ९१ हजार रुपैयाँ मध्ये ६ करोड २८ लाख ६३ हजार ८२५ रुपैयाँको अपारदर्शी रुपमा खर्च गरेको थियो ।

विराटनगरका पाँच सय र सुन्दरहरैचाका ५० जना बचतकर्ताको रकम हिनामिना भएको पाईएको छ। सहकारीले सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।

मंगलबार सहकारी पीडितहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। उनीहरु उजुरी दिन प्रहरी कार्यालय पुगेका थिए। तर, प्रहरीले उजुरी नलिएपछि पत्रकार सम्मेलन गरेका हुन।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले सहकारीको रकम हिनामिनाका विषयमा छानविन भईरहेकोले त्यसको प्रतिवेदन आएपछि उजुरी लिएर कारवाही प्रक्रिया अघि बढाउने बताए। उक्त प्रकरणमा अहिले प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय स्वयमले छानविन गरिरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट