गुण्डा संरक्षण गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध भारतीले थालिन रिले अनशन

काठमाण्डौं– आफना पतिका हत्यारालाई राष्ट्रपतिले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले काठमाडौं माइतीघरमा अनशन सुरू गरेकी छन् ।

खुँडा प्रहार गरेर हत्या गरेका नेपालगन्जका चेतन मानन्धरकी पत्नी मानन्धरको कैद माफी खारेज हुनुपर्ने र हत्यामा अदालतद्वारा दोषी ठहर गरिएका ‘रिगल’ भनिने योगराज ढकाललाई बाँकी कैद भुक्तानीका लागि पुनः जेलमै राखिनुपर्ने माग गर्दै उनले अनशन थालेकी हुन् ।

उनले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन । संविधानको गम्भीर उल्लंघन हुँदा तत्काल गर्नुपर्ने रिटमाथिको सुनुवाइ भने न्यायाधीश अभावमा लगातार दोस्रो दिन पनि सुनुवाई हुन सकेको थिएन । त्यसैले बुधबारबाट उनले अनशन थालेकी हुन् ।

सोमबार उक्त रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । तर, उनको इजलासमा तोकिएका १३ मुद्दाको अन्तिम सूचीमा पेसी चढेकाले पालो आएन । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएका २९ मुद्दामध्ये मानन्धरको रिट २२ औं नम्बरमा पेसी चढेको थियो । तर, सुनुवाई हुन सकेन।

राज्यबाटै अपराधीलाई आममाफी दिएर कानुनी शासनको उपहास भएको भारतीले गुनासो गरेकी छिन्। पीडित परिवारलाई थप पीडा दिएकाले विरोधस्वरूप रिले अनशनमा बस्ने निर्णयमा पुगेको उनको भनाई छ।

देश चलाउने नेताहरूले गुन्डाको संरक्षण गर्दा पतिको हत्यारालाई आममाफी मिलेको र त्यसले गर्दा आफूहरू असुरक्षित बन्न पुगेको उनको भनाइ छ ।

यसैविच रिटको तारेख बुझ्न सर्वोच्च अदालत पुगेकी उनी अदालत परिसरमै ढलेकी छन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट