इलाम २ बाट चुनाव लड्ने ऋषी धमला पत्नि एलिजाको घोषणा, पार्टीको टुङ्गो छैन
काठमाण्डौं– सञ्चारकर्मी ऋषी धमलाकी पत्नि एवम् अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचन लड्ने घोषणा गरेकी छिन्। आफु इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको उनले बताईन।
कुन पार्टीबाट उठ्ने भन्ने निश्चित नभएको उनको भनाई छ। ‘कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्छु’, उनले भनिन् । उनी केही समयअघिसम्म रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिमा क्रियाशिल थिईन।
रेशम चौधरीलगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै दोषी प्रमाणित गरेपछि एलिजाले माइतीघर मण्डलामा पुगेर फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् । रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् । ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ। अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’ उनले भनिन्।
तर, त्यसको केही दिनपछि नै उनले पार्टी परित्याग गरेको घोषणा गरिन। यस विचमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोटमै गएर भेटिन। ओलीसँग खिचेको फोटो उनले सामाजिक सञ्जालमा पनि निकै प्रचार गरिन। नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङको अकस्मात निधन भएपछि उनी त्यो ठाउँमा आफु निर्वाचित हुन दौडधुप गरिरहेकी छिन्।
इलाम २ बाट निर्वाचित सांसद नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।