एक महिनादेखि कोरियामै थुनिएका छन् माओवादी नेता ‘दीपशिखा’

काठमाण्डौं– एक महिनाअघि दक्षिण कोरिया पुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेपाल फर्कन पाएका छैनन्।

कोरियाको भन्सार कार्यालयले अर्को निर्णय नहुन्जेसम्मका लागि उनलाई नेपाल फर्कन रोक लगाएको छ। डाक्टरको सिफारिसबिना औषधि लगेको भेटिएपछि कोरीयाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उनलाई रोकेको थियो।

गत साउन २५ गते (अगस्ट १० तारिख) नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन उनी कोरिया गएका थिए । उनी कोरिया जाने थाहा भएपछि दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि सेवन गरिरहेको औषधि मगाएकी थिइन् । कोरिया जाँदा उनले साथमा राजदूतले मगाएको एन्जाईटीको औषधि लिएर गएका थिए ।

तर, इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन पार गरिसकेपछि उनलाई भन्सारका अधिकारीले औषधिका विषयमा सोधपुछ गरेका थिए । औषधि ल्याउनुको कारण बताउँदै सापकोटाले चिकित्सकको सिफारिस ल्याउन भुलेको बताएपछि भन्सारका अधिकारीले उनीमाथि अनुसन्धान हुने जनाएका थिए ।

भन्सारका अधिकारीले अनुसन्धान नसकिएसम्म कोरिया छाड्न नपाउने र औषधिसँग सम्बन्धित आवश्यक कागजात बुझाउन भन्दै उनलाई छोडिदिएका थिए । दुतावासले आवश्यक डकुमेन्ट बुझाइसकेको जनाईएको छ।

नियतवश कुनै कमजोरी नगरेकाले चाँडै आफू नेपाल फर्कने उनको विश्वास गरेका छन्। दक्षिण कोरियास्थित नेपाली दूतावासले पनि राजदूतको अनुरोधमा औषधि ल्याउँदा प्रेसक्रिप्सन ल्याउन छुटेकाले दीपशिखा नेपाल फर्कन नपाएको मंगलबार एक प्रेस नोट जारी बताएको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले दीपशिखालाई छिटो नेपाल फर्काउने वातावरण बनाउन कोरियाको परराष्ट्र मन्त्रालयमार्फत पनि अनुरोध गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट