मलद्वारमा सुन तस्करी गर्ने गिरोहमा मन्त्री लामाको संलग्नता !, तरुण दलका केन्द्रीय सदस्य फरार
काठमाण्डौं– बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामा सुन तस्करी प्रकरणमा संलग्न रहेको आधार भेटिएका छन् ।
भदौ २५ गते बाबुलाल दोङसहितले मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा काभ्रे कांग्रेसका सभापतिसमेत रहेका लामाको संलग्नता देखिएको हो ।
१ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई पनौती नगरपालिका– ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका– ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका– ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।
सोही गिरोहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने फरार भएका छन् । कांग्रेस जिल्ला सभापति तथा प्रदेशमन्त्री तीर्थ लामाका निकट सहयोगी विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागमा समेत मनोनीत भएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मन्त्री लामाका विशेष सहयोगी मानिने विकास लामाले विगतमा दुबई बसेकै बेलादेखि सुन तस्करीको खुलेको छ । तिर्थले विकासलाई कांग्रेसबाट समानुपातिक उम्मेदवार बनाउनसमेत सिफारिस गरेका थिए । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् ।
यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले काभ्रे कांग्रेसमा खैलाबैला मच्चिएको छ ।
पक्राउ परेकामध्ये एकजना बाबुलाल दोङ माओवादी केन्द्रका सांसद सूर्यमान दोङ निकट रहेको बताइएको छ । प्रहरीको अनुसन्धानमा काभ्रेको महाभारत गाउँपालिका गोकुलेका विकास योञ्जन (लामा)को व्यवसायिक साझेदारका रुपमा मन्त्री तीर्थ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष जीतेन्द्रमान तामाङ देखिएका छन् । जीतेन्द्र पनि नेपाली कांग्रेसका नेता हुन् ।
विकाससँग तीर्थको राजनीतिक निकटतामात्र नभएर व्यवसायिक र करोडौंको आर्थिक कारोबारसमेत पुष्टि हुने आधारहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सुनतस्करीमा जोडिएको बाग्मती प्रदेश ०१ २७ च ९९६० नम्बरको क्रेटा गाडीबाट बरामद भएको चेक तीर्थ लामाको नाममा उनकै खाताबाट काटिएको छ ।
प्रहरीका अनुसार लामाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको आडमा धन्दा चलाएका थिए ।