मलेसियन र भारतीय भरियाको कुरा नमिल्दा काठमाण्डौंमा पक्राउ पर्‍यो झण्डै ६ किलो कोकिन

काठमाण्डौं– काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार ठमेलको सिटी होटलबाट झण्डै ६ किलो कोकिन (आगूऔषध) सहित मलेसियन महिला ४७ वर्षीय बथुमलाई भादिभालूलाई पक्राउ गर्‍यो।

महिलाको साथबाट ६ वटा स्कुल ब्यागमा फल्स बटम (विशेष तरिकाले प्याक गरिएको) बनाएर राखिएको अवस्थामा ५ किलो ८२० ग्राम कोकिन बरामद भएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार उक्त कोकिन नेपाली रुपैयाँ २० करोड ३७ लाख बराबरको हो।

प्रहरीका अनुसा ती महिला १२ जुलाईमा मलेसियाबाट लाओस र १३ जुलाईमा थाइल्याण्ड हुँदै काठमाडौं आएर होटलमा बसेकी थिइन्। प्रहरीका अनुसार महिला कोकिन ओसार पसार गर्ने भरियामात्रै हुन भने तस्करीका मुख्य नाइके लाओस र भारतमा छन्।

मलेसियन महिलाले काठमाडौं ल्याएको कोकिन आइतबार बिहान भारत लैजाने तयारी थियो। भारतको दिल्लीबाट पनि एक महिला आएर सोही होटलमा बसेकी थिईन। उनको योजना थाइल्याण्डबाट आएकी मलेसियन महिलालाई समेत दिल्ली लैजाने थियो।

तर, आइतबार बिहान बथुमलाईले आफू भारत जान नमिल्ने र आफूले ल्याएको स्कुल ब्यागमात्रै दिल्ली पु¥याई दिन आग्रह गरिन्। भारती महिलाले ब्यागमात्रै लिएर जान नसक्ने भन्दै ब्यागभित्र भएको सामानबारेमा चासो राखिन। उनले ब्याग खोलेर पनि हेरिन्।

ब्यागभित्र फल्सबटम बनाएर प्याक गरिएको सामान देखेपछि उनलाई शंका लाग्यो। झोला बोक्दा आफू फस्न सक्ने आशंका भएपछि मलेसियन महिलाले थाहा नपाउने गरी उनले प्रहरीलाई खबर गरिन्।

उनैको खबरका आधारमा प्रहरीले बथुमलाई उनी वसेको होटलको कोठाबाटै पक्राउ गरेको हो। प्रहरीले सूचना दिने महिलालाई पनि नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ। मलेसियन महिला भने थाइल्याण्ड हुँदै ५ पटक काठमाडौं आएको खुलेको छ। उनी यसअघि पनि कोकिन बोकेरै नेपाल आएको प्रहरीको अनुमान छ। तर, उनले प्रहरी समक्ष बयान दिन इन्कार गरिरहेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट