‘ढाडमा टेकेर टाउकोमा हान्ने’ शैलीले पासोमा परे प्रचण्ड, वेहोसीमै गुम्यो सत्ता
काठमाण्डौं– संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताले एक अर्कालाई प्रधानमन्त्री स्विकार गर्न नसक्दा चिठ्ठा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चिठ्ठाको म्याद शुक्रबारदेखि सकिएको छ। सम्भवतः संसदको यो कार्यकाल अव उनलाई अर्को चिठ्ठा परेर सत्तामा फर्किने सम्भावना छैन।
१८ महिना सहज रुपमा सत्ताको सुखभोग गरेका उनले राजनीतिक उतार चढावका ४ घुम्ती सहजै पार गरे। उनको यो यात्रामा संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले पालैपालो काँध थापे। तर, जस्ले काँधमा बोक्यो उसैको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ दाहालको शैलीले अन्ततः दुवै दल रुष्ट भए। त्यसैले पाँचौ घुम्तीमा दाहाल नराम्ररी चिप्लिए। काँध थापिरहेको नेकपा एमालेले यसरी काँध छोड्यो की दाहालले आफु लडेको भेउ नै पाएनन्। त्यसैको पटाक्षेप शुक्रबार प्रतिनिधि सभामा देखियो। ६३ जना सांसदले उनको पक्षमा मतदान गरेको घोषणा हुँदै गर्दा उनको अनुहार मलिन थियो, सत्ता गुम्दाको पीडा र आफनो असफलता उनको रुन्चे हाँसोमा प्रष्ट देखियो।
अर्काको काँधमा वसेर रजाई गरिरहेका दाहालले वितेका १८ महिना सत्ताको रसपान यसरी गरे की धङधङीले कहिलै छोडेन। यही वेहोसीको फाईदा उठाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी विरुद्ध पासो थापे। १७ असारको राती बसेर बनाएको पासोमा परेर अन्ततः दाहाल उठ्नै नसक्ने गरी चिप्लिएका छन्।
घाईते अवस्थामै होस खुलेका उनले थाहा पाउँदा हातबाट सत्ताको बागडोर गुमिसकेको थियो। यही औडाहामा उनले झण्डै डेढ घण्टासम्म संसदको रोष्ट्रममा उभिएर कुण्ठा पोखे। एमाले कांग्रेसलाई धम्क्याए। दुई पार्टीको गठवन्धनलाई पश्चगामी भन्दै देश र जनतालाई अगाडी सारेर आगामी राजनीतिका लागि गोरेटो कोर्ने प्रयास गरे। तर, आफुसँग त्यसका लागि एजेन्डा नै सकिएको भने हेक्का राखेनन्। कुण्ठा पोख्ने क्रममा उनले प्रायः एमाले अध्यक्ष ओलीलाई धारे हात लगाए। ओलीले राजनैतिक वैमानी गरेको तुस वोकेका उनले आफुले गरेको वैमानी भने विर्सिए।
तथापी सत्ता गुमेपछि उनी शुक्रबारै बालुवाटार छोडेर खुमलटार सरेका छन्। अव उनीमाथि अर्को चुनौती थपिएको छ। दाहालले जसरी थाहै नपाई सत्ता गुमाए, त्यसरी नै पार्टी गुमाउने खतरा छ। कुर्षीमा छँदा परिवार, पैसा र पावर वाहेक नदेखेका दाहालले सत्तामा होस वा पार्टीमा, सधैं अर्काको काधमा वसेर रजाईँ गरे। आफु बीचमा बसेर दायाँबायाँ रहेकालाई लडाउने र आफु अनुकुल प्रयोग गर्दै गए। उनको यो शैली बुझेका दोस्रो पुस्ताका नेतालाई उनले उँभो लाग्नै दिएनन्।
अन्ततः मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा (बादल), नेत्रबहादुर चन्द (पिप्लव), प्रभु साहलगायतका कयौं नेताले पार्टी नै छोडे। अहिले पार्टीमा जनार्दन शर्मा र वर्षमान पुनहरूको बोलवाला छ। उनीहरुको बीचमा पनि दाहालले खेलिरहेका छन्। यी दुई जनालाई पनि मिल्न नदिने नीति उनको स्पष्ट देखिन्छ।
यसको उदाहरण महासचिवको चयनमा देखिएकै हो। यी दुई नेता मिल्लान् र आफूलाई दबाबमा पार्लान् भन्ने चिन्ता दाहालमा सधैं रहन्छ। दाहालको यही शैलीका कारण सत्ता गुमेको र पार्टी कमजोर भएको महशुस गरेका कतिपय नेताले अव उनी विरुद्ध टाउको उठाउने सम्भावना छ।
अर्कोतर्फ आगामी चुनावमा दाहालले कसरी आफनो पार्टीको अस्तित्व वचाउलान भन्ने चिन्ता पनि छ। किनकी कांग्रेसले महासमितिमा गठबन्धन गर्न हुँदैन भन्ने दस्तावेज पारित गरेको छ। यसकारण पनि कांग्रेस–एमालेले ८४ सालको चुनावमा कसैसँग गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने सम्भावना बलियो छ। अव दाहालको सत्तामा फर्किने त कुरै छोडौं आफनो ओज र पार्टीको अस्तित्व कसरी बचाउने भन्ने मै दिन वित्ने पक्का छ।