बालेन्द्रले नगरसभामै सामना गरे ‘मुर्दाबाद’, भनेको नमाने रामराम भन्ने काँध नथाप्ने चेतावनी

काठमाडौं– काठमाण्डौं महानगरपालिकाको १५ औं नगरसभामै मेयर बालेन्द्र साहले ‘मुर्दाबाद’ को सामना गर्नु परेको छ। ०७९ को स्थानीयतह निर्वाचनबाट मेयरमा निर्वाचित भएपछि २ आवमा सहज रुपमै नीति तथा कार्यक्रम पारित गराएका साहले यस पटक भने निकै नै असहज महसुस गर्नु पर्यो।

राष्ट्रिय सभागृहमा सोमबार भएको नगर सभामा सदस्यहरू बालेन्द्रविरुद्व आक्रोशपूर्ण रूपमा देखिए। नगर सभा सदस्यहरूले उनीविरुद्व अब चुप लागेर बस्न नसकिने चेतावनी दिए। वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले फरक मतलाई दबाउन खोजियो भने त्यसलाई मुर्दावाद भन्ने चेतावनी दिए।

‘अझै पनि विरोधका आवाजहरू दबाइन्छ, विरोध सुन्न तयार छैनन्, फरक मत, विमति राख्नेलाई दबाउन खोजिन्छ भने त्यो कुरा जिन्दावाद होइन, मुर्दावाद भन्छु’ उनले भने–‘विरोधको आवाज सुन्न नचाहनेलाई मुर्दावाद भन्न चाहन्छु।’

उनले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्नु भन्दै बालेन्द्रसँग आक्रोश पोखे। त्यसबीचमा न्युरोडको फुटपाथ विषयमा बालेन्द्र र वडाअध्यक्ष महर्जनबीच चर्काचर्की नै भएको थियो।

नेकपा माओवादी केन्द्रकी नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली)ले बालेन्द्रको सिंहदरवार जलाउने अभिव्यक्तिको कडा प्रतिकार गरिन। उनले सिंहदरवारले नै प्रदत्त गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै ‘कसैले महानगरपालिकाको दरबार जलाउँछु’ भन्दै आए के गर्ने भनेर प्रश्न गरिन।

‘प्रमुखज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ। त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७४ ले दिएको अधिकारअन्तर्गतको हो। जुन अधिकार सिंहदरवारले प्रद्यत गरेको अधिकार हो’ उनले भनिन्–‘अहिले सिंहदरबार जलाउँछु भन्दैगर्दा तपाईँलाई महानगरपालिकाले दिएको जुन दरबार छ। भोलि त्यो दरबार महानगरबासीले जलाए भने त्यसको अवस्था के हुनसक्छ?’

एमालेका नगर सभा सदस्य नवराज पराजुलीले पञ्चायत र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको स्मरण गराउँदै मेयर बालेन्द्र निरङ्कुश भएको आरोप लगाए। ‘हेर्दा तपाईँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरूले राम्रा काममा तपाईँलाई साथ दिन्छौं। अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं। भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं।’– पराजुलीले भने।

उपमेयर सुनिता डंगोलले पनि बालेन्द्र विरुद्ध भद्र असहमति जनाईन। नगरसभामा ध्रुवीकरणजस्तो देखिएको भन्दै उनले यसले सही ठाउँमा नपु¥याउने बताइन्।

उनले सबैले पदको मर्यादालाई ख्याल राखेर अभिव्यक्ति दिनुपर्ने बताउँदै ‘पदमा बसिसकेपछि पदको मर्यादालाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ। त्यो उदाहरण कसैले होइन तपाईं, म र हामी सबैले बनाउनुपर्छ। हामीले आफैंले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे–जे आयो बोल्ने हो भने कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ’ भन्दै बालेन्द्रको फेसवुके टिकाटिप्पणीको भद्र आलोचना गरिन।

‘सिंहदरबार जलाउनु ठीक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठीक होइन। यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट