धरानको कार्यपालिका वैठकमा मेयरको मानसिक स्वास्थ्य प्रति वडाध्यक्षको चिन्ता
धरान– धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा मेयर हर्क साम्पाङको मानसिक स्वास्थ्य बारे वडाअध्यक्षले चिन्ता ब्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा देखाउने गरेको अल्लारेपन, निर्णयमा एकलकाटे शैली, आफन्तलाई जथाभावी कर्मचारीमा भर्ना तथा धरानको सिङ्गो धार्मिक र सामाजिक वातावरण खल्वल्याएको हेर्दा मेयरको स्वास्थ्य अवस्था प्रति चिन्ता गर्नु पर्ने अवस्था आएको उनीहरुले वताए।
सामाजिक सञ्जाल तथा फिजिकल्ली भेटघाटका क्रममा समेत साथीभाईहरुले ‘के छ मेयरको स्वास्थ्य अवस्था ?’ भनेर पनि प्रश्न गर्न थालिएको वैठकमा कुरा उठेको छ। उपमहानगरका प्रवक्ता समेत रहेका धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले फेसबुकमा मेयरलक्षित टिप्पणी तथा उनको एकलकाटे प्रवृत्तिको खुलेर टिप्पणी गरे।
भट्टराईले यसरी टिप्पणी गर्दा अन्य कार्यपालिका सदस्यले तालि बजाएर हुटिङ गरेका थिए। भट्टराईले धरानको कुर्सीमा बसेर सिंगो वातावरण खल्बल्याउने काम मेयरले गरेको आरोप लगाए। ‘मेयरको स्वास्थ्यप्रति जनताको चासो छ, धरानको कुर्सीमा वसेर जथाभावी बोलेर वातावरण विगार्ने छुट कसैलाई छैन।’– उनले भने।
मेयर साम्पाङका कारण विश्वभर नै ‘धरान अशान्त छ भनेर’ सन्देश प्रवाह भएको र सवैले चिन्ता व्यक्त गरिरहेको भट्टराईले बताए। ‘तिमीहरुको मेयरको के छ हौ मानसिक अवस्था ? खै व्यवहारमा त देख्दिनँ भनेर फेसबुकमा प्रश्न गर्छन’ उनले भने ‘कि हामीले सोच्नुपर्ने अवस्था आएको हो ?’
‘तपाईले धरानको सिंगो वातावरण खल्बल्याउने काम गर्नु भएको छ। हुन त तपाईं विश्वमा म भन्दा जान्ने र बुझ्ने को छ र भन्नु हुन्छ। आफैं मपाईं भन्नु हुन्छ। तर, तपाईलाई हेर्ने दृष्टिकोण चै गतिलो छैन, तपाईलाई सवैले दयाको भावनाले हेर्न थालेका छन्’ भट्टराईले भने–‘यो अवस्था प्रति दुःख व्यक्त गर्न चाहान्छौं हामी, खेद व्यक्त गर्न चाहान्छौं ।’
‘धरानका चारकुनामा प्रहरी नै प्रहरी। अब धरानमा आगो बल्न आँट्यो। धरानबाट जातीय धार्मिक युद्धको शंखघोष हुन आँट्यो भन्ने परिस्थिति निर्माण हुँदा। सिंगो राज्य संयन्त्र धरानका लागि चिन्तित हुँदा हाम्रो मेयर के गर्दै हुनुहुन्थ्यो ?’ भट्टराईले भने–‘यस बारे प्रष्ट पार्न मेयरलाई आग्रह गर्छु।’
भट्टराईले मेयर साम्पाङलाई तत्काल राजीनामा दिएर ताजा जनमतका लागि चुनौती पनि दिए। ‘म तपाईंलाई च्यालेञ्ज गर्छु। तपाईं तयार हुनुहुन्छ ? ताजा जनमतका लागि म अहिले राजीनामा गर्न तयारी छु’ उनले भने –‘तपाईसँग चुनाव हारें भने राजनीति मात्र होईन, धरान छोडेर हिड्छु।’
बैठकमा भट्टराईले जस्तै वडा नं. १९ का अध्यक्ष पूर्णबहादुर लिम्बु, १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईलगायतले पनि मेयरको कार्यशैलीको विषयमा प्रश्न उठाए।
साम्पाङले भने वडाध्यक्षहरुको प्रश्नहरुको गोटमटोल जवाफ दिए। उनले सामाजिक सद्भाव, धार्मिक सहिष्ण्ुता र एकताभाव कायम गर्नका निम्ति आफु लागि परेको जवाफ दिए।