ब्रेक फेल भएको जिप खाजा घरमा छिर्यो, तीन जना घाईते, एक जनाको अवस्था गम्भिर
काठमाडौं– लमजुङ सदरमुकाम बेंसीसहरमा ब्रेक फेल भएको जिप घरभित्र छिर्दा ३ जना घाइते भएका छन्। मंगलबार दिउँसो बेंसीसहर नगरपालिका–७, तमू संग्रहालय छेउको ओरालोमा जिपको ब्रेक फेल भएको थियो।
नियन्त्रण गुमाएर ग३च ५०७१ निजी जिप क्याम्पस रोडको आस्मी खाजा घरको सटरमा छिर्दा खाजा घरमा बसिरहेका ३ जना घाइते भएको प्रहरीले जनाएको छ। जिपमा दूधपोखरी गाउँपालिका–१, कल्लाबारी माविका २ जना विद्यार्थी र १ जना शिक्षक सवार थिए।
उनिहरुलाई लिएर तमू संग्रहालय जाँदै गर्दा संग्रहालयमा नरोकिई सिधै क्याम्पस रोडको सटरभित्र प्रवेश गरेको हो। शिक्षक र विद्यार्थी भने सकुशल छन्। जिपको ठक्करबाट घरधनी ३८ वर्षीया सिर्जना श्रेष्ठ, छिमेकी ८० वर्षीया रत्नाकुमारी राउत र बुहारीको पसलमा रहेकी ६३ वर्षीया डम्मरकुमारी रोका घाइते भएका छन्।
श्रेष्ठको टाउको र राउतको दायाँ कोखामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर थानेश्वर चपागाईले वताए। रोकामगरको ढाड र करङमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको उनले जनाए।