सांसद अमरेश सिंहको आरोप– प्रधानमन्त्रीको भ्रमणमा छोरी चिनाउने भन्दा अर्को उपलब्धि भएन
काठमाण्डौं– प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरी चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतवारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन।
विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उनले प्रधानमन्त्रीको कडा आलोचना गरे। ‘त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखायो’ उनले भने–‘ब्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुन्छ।’
‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ? या ७ दिन बस्छ?’ उनले प्रश्नको शैलीमा भने–‘यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन। प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ।’
‘प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि। त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि’ उनले भने–‘प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो। त्यसबाहेक के फाइदा भयो?’
प्रधानमन्त्री दाहाल अमेरिका र चीनको भ्रमण सकेर शनिवार मात्रै स्वदेश फर्किएका हुन। उनले विमानस्थलम पत्रकार सम्मेलन गरेर आफनो भ्रमण उपलब्धी मुलक भएको वताएका थिए। उनले भ्रमणका क्रममा भएका सहमतिको फेहरिस्त प्रस्तुत गरेका थिए।