भारतमा नेपाली युवाको चमत्कार, चितवनका समर्पण लामाले जिते डान्स रियालिटी सोको उपाधि
काठमाण्डौं– चितवनको रत्ननगर नगरपालिका–१३ माधवपुर, टाँडीका समर्पण लामाले इन्डियाज बेस्ट डान्सर (आईबीडी) सिजन– ३ को उपाधि जितेका छन्।
शनिबार सोनी इन्टरटेनमेन्ट टेलिभिजनबाट प्रसारित आईबीडीको फाइनलमा समर्पण लामाले सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान र अञ्जली मामगाईलाई पछि पार्दै उपाधि जितेका हुन् ।
उनले सर्वाधिक भोट पाएका थिए। आईबीडी भारतको सर्वाधिक लोकप्रिय डान्स रियालिटी सो हो। यो उपाधि जितेसँगै लामाले १५ लाख भारु नगद पुरस्कार प्राप्त गरेका छन्। उनका नृत्य निर्देशक भावना खन्डुजाले पनि ५ लाख भारु नगदसहितको पुरस्कार प्राप्त गरिन् ।
ग्राण्ड फिनालेमा नै भएको अन्तिम ब्याटलमा अञ्जली मामगाईले बोनस १० अंक जितेर पछिल्लो अंक र जनताको भोटको आधारमा दोस्रो स्थान प्राप्त गरिन। त्यसै गरी सिवांशु सोनी तेस्रो, अंकित चौहान चौथो र विपुल काँडपाल पाँचौँ स्थान परे ।
फिनाले एपिसोडका अतिथिमा गोविन्दा र गणपथका कलाकार–टाइगर श्राफ र कृति सेनन उपस्थित भएका थिए । शोलाई जय भानुशालीले होस्ट गरेका थिए जसमा सोनाली बेन्द्रे र गीता कपुर जज थिए ।
भारतको सर्वाधिक लोकप्रिय डान्स रियालिटी सो इन्डियाज बेष्ट डान्सरको तेस्रो सिजनको उपाधि जितेपछि उनले आफुलाई सपना जस्तै लागेको प्रतिक्रिया दिएका छन्। ‘कुनै दिन म पनि शोमा सहभागी हुन्छु भनेर सोच्थेँ । तर कहिल्यै डान्स रियालिटी शो जित्छु भनेर सोचेको थिइनँ ।’ उनले आफूलाई भोट दिने, शुभचिन्चक र निर्णायकलाई धन्यवाद दिएका छन् ।
२१ वर्षीय समर्पण लामा बुबा धिरेन लामा र आमा सुधा विष्टको जेठो छोरा हुन् ।