आफुलाई साधु बताउने युवाद्वारा वडाध्यक्षमाथि त्रिशुल प्रहार

काठमाडौं– आफुलाई साधु भएको दावी गर्ने एक युवकले दाङको राजपुर गाउँपालिका–५ का वडाध्यक्ष टंकबहादुर विष्टको कोखामा त्रिशुल प्रहार गरेका छन्।

वडाध्यक्ष विष्टमाथि मंगलबार अपराह्न साढे ४ बजे कार्यकक्षमै त्रिशुल प्रहार भएको हो। त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन्।

विष्टलाई मंगलबार लमही अस्पताल पु-याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचार गर्न उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार वडाध्यक्ष विष्टको दाहिने कोखामा त्रिशुल प्रहार भएको हो। उनीमाथि त्रिशुल प्रहार गर्ने राजपुर–६ खयर भट्टीका २० वर्षीय विजय नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

डीएसपी मल्लाका अनुसार पक्राउ परेका युवकले आफूलाई साधु भएको दाबी गरेका छन्। उनी ४/५ महिनायता बाबकुटी जंगलमा बस्दै आइरहेको खुलेको छ। उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशुल प्रहार गरेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट