५ किलोको हम्मरले टाउकामा हानेर श्रीमान श्रीमतीकै हत्या
काठमाडौं– काभ्रेपलान्चोकमा ५० वर्षमाथिका दम्पत्तिको हत्या भएको छ। महाभारत गाउँपालिका–४, महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको हो।
उनीहरु मंगलबार घरभित्रै मृत फेला परेका थिए। उनीहरूको टाउकोमा भारी सामान (हम्मर) ले हानेको चोट देखिएको महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले जानकारी दिए।
घटनास्थलमा पाँच किलोको हम्मर भेटिएको छ। बल दम्पतीले गाउँमा जस्ताको टहरो बनाएर पसल सञ्चालन गर्दै आएका थिए। श्रीमानको शव पसलको कोठामा र श्रीमतीको भान्छा कोठामा शव भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयको सूचनाका आधारमा मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय मंगलटारबाट टोली घटनास्थल पुगेको थियो। डिएसपी राजकुमार श्रेष्ठका अनुसार इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षकको टोली र जिल्ला प्रहरी कार्यालयबाट नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
बल दम्पतीका दुई छोरा र एक छोरी काठमाडौंमा बस्दै आएको वडाध्यक्ष मोक्तानले बताए।