सदगद गरेको ५ दिनपछि उत्खनन् गरेर निकालियो महिलाको शव, पतिले हत्या गरेको आशंका
काठमाडौं– रूपन्देहीको मर्चवारमा एक महिलाको हत्या भएको आशंका बढेपछि कव्रस्थानमा गाडी सकेको शव प्रहरीले ५ दिनपछि उत्खनन् गरेर निकालेको छ। कोटहीमाई गाउँपालिका–७ भंगहिया बस्ने साहिदा खातुनको उनकै श्रीमानले हत्या गरेको आशंका छ।
मृत्यु शंकास्पद भएको भन्दै साहिदाको माईती पक्षबाट प्रहरीमा निवेदन परेको छ। राहिदाको कालगतीले मृत्यु भएको भन्दै परिवारले अन्त्येष्टि गरिसके पनि घट्ना शंकास्पद भएको भन्दै मृतकका दाजुले जाहेरी दिएका छन्।
त्यसपछि रूपन्देही प्रहरीले फरेन्सिक विज्ञको सहयोगमा शव उत्खनन् गरेको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार बुधबार लुम्बिनी प्रादेशिक अस्पतालका फरेन्सिक चिकित्सक डा.विप्लव मानन्धरको निगरानीमा शव उत्खनन् गरिएको हो।
उत्खनन् गरिएको शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगि पोष्टमर्टम गरी परिवारलाई बुझाइएको छ। प्रहरीका अनुसार सम्मरीमाई गाउँपालिका–२, मझगावा बस्ने मृतकका दाजु मोहमद रफिक मुसलमानले आफ्नी बहिनीको मृत्यु परिवारको यातनाका कारण भएको दावी गर्दै २ जेठमा रूपन्देही प्रहरीमा निवेदन दिएका छन्।
बहिनी साहिदालाई उनका श्रीमान जलालुदिन मुसलमानले विभिन्न तरिकाले यातना दिँदै आएको र २७ वैशाखमा मृत्यु भएको भन्दै आफुहरुलाई समेत जानकारी नदिई सदगद गरेकोले शंका लागेको निवेदनमा उल्लेख छ।
बहिनीको मृत्यु कालगतिले नभई हत्या गरेको र उक्त शव उत्खनन् र परीक्षण गरी अनुसन्धान तथा कार्बाही गरी पाऊँ भन्दै रफिकले माग गरेको रूपन्देही प्रहरीले जनाएको छ।