मजाक उडाएको रिसमा जुतली र पोल खुल्ने डरले संगिताको हत्या

काठमाडौं– दाङको घोराहीमा शनिबार दिउँसै बञ्चरोले हानेर दुई महिलाको हत्या गर्ने ब्यक्ति अटो चालक रोल्पाको थवाङका ५८ वर्षीय टेकबहादुर घर्ती नै भएको प्रहरीले निस्कर्ष निकालेको छ। घर्तीले पनि हत्या गरेको स्विकारेका छन्।

शनिवार दिउँसो घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको थियो। हत्या भएको कोठा संगिताको र घर जुतलीको हो। जुतली आफ्नो घर भाडामा लगाएर घोराहीमा डेरा गरेर बस्थिन्। उनका श्रीमान विदेशमा छन्।

थवाङका घर्ती भने केही वर्षयता घोराहीको चौघेरास्थित छोरीको घरमा बसेर अटो चलाउँदै आएका थिए। सोही क्रममा टेकबहादुर र जुतलीबीच २ वर्ष अघिदेखि चिनजान भएको थियो। जुतली घर्तीकै अटोमा चढेर हरेक महिना भाडा उठाउन पहेलपार जान्थिन।

शनिबार पनि घर्तीको अटोमा वसेर जुतली भाडा उठाउन पहेलपार पुगेका थिए। त्यहाँ पुगेर संगीताको कोठामा बसेर संगीताका श्रीमानलाई रक्सी किन्न पठाए। यही क्रममा घर्ती र जुतलीबीच विवाद भयो। विवादकै क्रममा उनले नजिकै रहेको बञ्चरो उठाएर जुतलीलाई हाने। उत्तिखेरै उनको मृत्यु भयो।

घट्ना हुँदा कोठामै रहेकी संगिताले पोल खोल्ने डरले टेकबहादुरले सोही बञ्चरो प्रहार गरी उनको पनि हत्या गरे। दुवै जना ढलेपछि टेकबहादुर कोठाबाट बाहिरिए र घटनाबारे छोरीलाई जानकारी गराए। त्यसको केही समयपछि संगीताका श्रीमान कोठामा पुगे।

श्रीमती र घरवेटी मरेको र अटो चालक भागेको देखेपछि उनले छिमेकीलाई खवर गरे। त्यसपछि प्रहरीलाई पनि खबर गरियो। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार टेकबहादुर अटोमा भाग्दै गरेका अवस्थामा घोराहीकै सौंडीकुलाबाट शनिवारै पक्राउ परेका हुन।

उनले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ। आफ्नो मजाक उडाएकाले जुतलीमाथि आक्रमण गरेको र पक्राउ पर्ने डरले संगितालाई पनि बन्चरोले हानेको उनले बताएका छन्। उनले लामो समयदेखि आफ्नो अटोमा चढेको तर भाडा नदिएको तर अटोचालक भनेर आफूलाई होच्याएर बोलेकाले हत्या गरेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट