डिभोर्स मागेपछि सहायक हवल्दारले गरे पत्नीको हत्या, सम्पत्तिको विषयमा विवाद
काठमाडौँ– दाङको घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी प्रहरी जवान धनमाया थापाले सम्वन्ध विच्छेद गर्न खोजेपछि श्रीमान् यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेको खुलेको छ। विहिवार साँझ झाँक्रीले गोली हानेर धनमायाको हत्या गरेका थिए।
आफूसँग भएको पेस्तोलबाट यमबहादुरले हानेको गोली धनमायाँको बायाँ कोखामा लागेको थियो। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा कार्यरत यमबहादुरले हिजै मात्र घोराही आएका थिए। उनले श्रीमतीमाथि प्रयोग गरेको पेस्तोल प्रहरीले बरामद गरेको छ। उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखको रनरको रूपमा कार्यरत थिए।
धनमायाले अदालतमा सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। डिभोर्सका लागि फिराद दर्ता गरेपछि सम्पत्तिबारे उनीहरूबिच विवाद भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्।
सहायक हवल्दारले पेस्तोल बोक्न नपाउने भए पनि उनले कसरी पेस्तोल लिएर दाङ पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जबाट आरोपीले ४ दिन बिदा लिएका थिए।
पत्नीलाई गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई लमहीस्थित अर्जुन खोलाबाट पक्राउ गरेको छ। उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
लुम्बिनीका डीआईजी कुवेर कडायतले पारिवारिक कारणले यमबहादुरले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।
र, यो पनि