अरुण चौधरीलाई रिहा गर्न वदनियत राखेको आरोप लागेका न्यायाधीशलाई कार्वाही

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका ब्यपारी अरुण चौधरीसहित तीनै जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश कारवाहीमा परेका छन्।

चौधरी प्रकरणमा जिल्ला अदालत काठमाण्डौको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा संलग्न न्यायाधीश यज्ञप्रसाद आचार्यलाई सजायस्वरुप दुर्गम जिल्ला मुगुमा काज सरुवा गरिएको हो।

२५ माघदेखि डडेलधुरालगायत सुदूर पश्चिमका जिल्ला अदालतको अनुगमन भ्रमण सकेर सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा राजधानी फर्कन समय लाग्ने र न्याय परिषद बैठक तत्काल बस्न नसक्ने हुँदा आचार्यले तत्कालै कारवाही पाएको जनाईएको छ।

गत बुधबारको विवादास्पद आदेशका निम्ति उनलाई कारवाही गरिएको स्रोतको दाबी छ। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत प्रमाणित भएको छ।

प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो। जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो।

न्यायधीस आचार्यले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने उल्लेख गरेका थिए।

यो आदेश दिएपछि न्यायाधीश आचार्य विवादमा तानिएका थिए। जग्गाको स्वामित्वमा गाँसिएका सांसद तथा विवादास्पद व्यवसायी विनोद चौधरीलाई सिआइबीले लिन खोजेको बयानबाट उन्मुक्ति दिलाउन न्यायाधीशले यस्तो आदेश दिएको अनुमान छ।

उनको पछिल्लो आदेशबारे न्यायिक छलफल गरेर थप कारबाहीको सिफारिस हुनसक्ने अनुमान छ।

र, यो पनि


प्रतिक्रिया

One thought on “अरुण चौधरीलाई रिहा गर्न वदनियत राखेको आरोप लागेका न्यायाधीशलाई कार्वाही

  1. यसकाई त सुलिमा चढाउन पर्ने हो के गर्ने नमिल्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट